खिमराज चालिसे ,भारत
फतेहाबाद (भारत), असार १४ — अखिल भारत नेपाली विद्यार्थी संघको फतेहाबाद नगर समितिको प्रथम नगर भेला आइतबार विशेष समारोहका बीच सम्पन्न भएको छ। भेलाले नवीन बिकको अध्यक्षतामा १५ सदस्यीय नयाँ नगर समिति चयन गरेको छ।
भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराईले विदेशमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीले विभिन्न चुनौतीको सामना गर्नुपर्ने भएकाले उनीहरूलाई संगठित गर्न विद्यार्थी संघको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले विद्यार्थी संघले अभिभावकीय भूमिका निर्वाह गर्दै विद्यार्थीका हकहित र समस्यामा साथ दिनुपर्नेमा जोड दिनुभयो।
उद्घाटन मन्तव्यका क्रममा महासचिव भट्टराईले नेपालको वर्तमान राजनीतिक परिस्थितिमा व्यापक वाम कार्यगत एकताको आवश्यकता औंल्याउनुभयो। विगतका कमजोरीबाट शिक्षा लिएर श्रमिक वर्गको हितका लागि बृहत् वाम कार्यगत एकता निर्माण गर्नु समयको आवश्यकता भएको उहाँको भनाइ थियो।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमारेले संगठनको इतिहास र विद्यार्थी संगठनसँगको सम्बन्धबारे धारणा राख्नुभयो।
भेलाले नवीन बिकको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा विनीता थापा, सचिवमा युवराज जिसी, सहसचिवमा नेहा शर्मा तथा कोषाध्यक्षमा हिना सुनार चयन हुनुभएको छ। सदस्यहरूमा वंशिका थापा, निखिल सुनार, पर्विन सुनार, आयुष सुनार, कार्तिक सुनार, आर्यन सुनार, जस्सन जिसी, अक्षिता लगायत रहेका छन्।
नवनिर्वाचित कार्यसमितिको घोषणा अखिल भारत नेपाली विद्यार्थी संघका सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य तथा हिसार नगर अध्यक्ष लक्ष्मी रास्कोटीले गर्नुभएको थियो।
कार्यक्रममा मूल प्रवाह फतेहाबाद नगर समितिका अध्यक्ष केबी किशन, उपाध्यक्ष शिवलाल सुनार, सुष्मा सुनार, सुशीला बिक, विद्यार्थी नेतृ कृति बिसी, कमला थापा, सुशीला सुनार, सङ्गीता ताम्राकारलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नवीन बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमला बगालेले गर्नुभएको थियो भने स्वागत मन्तव्य बाबुराम बिसीले राख्नुभएको थियो।















