चितवन, अविरल वर्षासँगै ठाउँ–ठाउँमा लेदो र पहिरो खस्न थालेपछि देशकै व्यस्त नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा सडकमा उच्च जोखिम सिर्जना भएकाले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्ड प्रयोग नगर्न सबै यात्रु तथा सवारी चालकलाई अनुरोध गरिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सेतीदोभानसहित विभिन्न स्थानमा माथिबाट लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएको छ। निरन्तर वर्षाका कारण सडक खुलाउने कार्यसमेत प्रभावित बनेको जनाइएको छ।
सडक अवरुद्ध हुँदा बीच बाटोमा रोकिएका एम्बुलेन्ससहितका अत्यावश्यक सवारीसाधनलाई प्राथमिकता दिँदै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने काम भइरहेको कार्यालयले जनाएको छ। अलपत्र परेका केही यात्रुलाई एम्बुलेन्समार्फत सडकखण्ड पार गराएर सुरक्षित स्थानमा पुर्याइएको पनि जानकारी दिइएको छ।
प्रशासनले वर्षा जारी रहेकाले पहिरो र लेदो खस्ने जोखिम अझै कायम रहेको भन्दै अत्यावश्यक बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरेको छ।











