प्यूठान,२८ श्रावण
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैंठौं)को प्यूठान नगरपालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न भएको छ । सोमवार प्यूठान नगरपालिका स्थित स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्मेलन सम्पन्न भएको हो।
सम्मेलनले निर्मला पुन मगरको अध्यक्षतामा १७ सदस्यीय नगर स्तरीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा माया घर्ति, सचिव शुशिला घर्ति,सहसचिव सागर सुनार, कोषाध्यक्ष शेर बहादुर सुनार रहनु भएको छ ।
सम्मेलनको उद्घाटन शत्रलाई सम्वोधन गर्दै अखिल छैठौंका महासचिव सुवास जी.सी.ले नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तनको आवश्यकता रहेको बताए । ‘अब्यवहारीक शिक्षा प्रणालीका कारण शैक्षिक प्रमाणपत्र लिएर आम विद्यार्थी बेरोजगार बन्ने स्थीति छ’ जी.सीले भने, ‘नेपालको शिक्षा प्रणालीको सुधारका लागी हामी संझौताहिन संघर्षलाई अगाडी बढाउदै आएका छौं ।’ राजनैतिक परिवर्तनमा विद्यार्थीको महत्वपूर्ण भूमिका भएता पनि शिक्षाको आमूल परिवर्तनमा ठूला राजनैतिक दलहरु उदासिन रहदै आएको उनको भनाई थियो । विद्यार्थी सचेत बर्ग भएकाले राजनीतिमा सचेत वर्गको उपस्थिति आवश्यक रहेको उनले बताए ।
राज्यको विभन्न ओहोदामा पुग्नेहरु जनताको प्रश्नदेखि डराएको चित्रण गर्दै उनले भने, ‘प्रश्न गर्नेहरु राजनीतिमा लाग्न हुन्न भनेर सिकाउनु उनिहरुको पाखण्ड हो ।’ठूला राजनैतिक दलहरु सत्ता स्वार्थमा मात्रै केन्द्रित रहदा देशको राजनैतिक प्रणाली र राष्ट्रियता समेत कमजोर हुदै आएको उनले बताए । ‘शक्ति र सत्ता हाम्रो लागी गौण कुरा हो’ उनले भने, ‘देशको शैक्षिक प्रणाली र राष्ट्रियताको रक्षाका लागि हामी गोलबन्द हुन आवश्यक छ ।’
सम्मेलनलाई सम्वोधन गर्दै नेकपा मसाल दुम्बिनी प्रदेशका प्रबक्ता तिलक जी.सी.ले देशको राजनैतिक प्रणालीको सुधारमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको बताए । ठूला राजनैतिक पार्टीहरुले सत्ता स्वार्थका लागि मात्रै विद्यार्थी आन्दोलनलाई उपयोग गर्दै आएको उनको भनाई थियो । कार्यक्रमा राजमो प्यूठानका सचिवालय सदस्य लाल बहादुर राउत, जिल्ला सदस्य धुव्र थापा र प्यूठान नगरपालिका ५ नम्वर वडाका अध्यक्ष धन बहादुर के.सीले सम्वोधन गरेका थिए । माया घर्तिको अध्यक्षता तथा विद्यार्थी शुशिला घर्तिको संचालनमा कार्यक्रम संचालन भएको थियो ।











