कमरेडहरु- आत्मघाती वम बोकेर नहिडौं !

सुवास जिसी

मसालका महामन्त्री मोहनविक्रम सिंह ९० वर्षको हुनुभयो । जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी ८४ वर्ष । यि दुई “बुढाहरु” देखेर म छक्क पर्छु । माघ महिना, चिसो छ। जाडोले वेलावेला मुटु कमाउँछ । गाउँघरमा वुढावुढी, केटाकेटीहरु आगोको वरिपरि छन् । परिवारका अन्य सदस्यले तातोपानी, तातोखाने कुराको जोहो गरिदिन्छन् । तिनीहरुलाई मुस्किल छ, जाडो धकेल्न ।

तर यी “वुढाहरु”लाई जाडो लागेको छैन । वरु देश दौडाहामा छन् तिनीहरु। देश दौडाहा- सत्ता, शक्ति र स्वार्थकोलागि होइन । आफू, आफ्नो र आफन्तको लागि पनि होइन । एउटा चिन्ता वोकेर । देशको चिन्ता । राष्ट्रको चिन्ता । भोलि र भविष्यको चिन्ता । २०६३ सालमा अन्तरिम संविधान जारी हुँदा एउटा गम्भीर विषय समावेश भएर आयो । संघीयता । त्यतिवेला देखि नै मसालले नेपालमा संघीयता अनावश्यक भन्यो । आज नेपालमा संघीयता छिरेको १८ वर्ष भयो । संघीयताले जनताको कानकपाल खाएको छ। अब सबैलाई लागेको छ- नेपालमा संघीयता अनावश्यक छ।

त्यही संघीयता खारेजीको लागि राष्ट्रिय जनमोर्चाले यहि चैतको २४ देखि ३० गतेसम्म काठमाडौ केन्द्रित सडक संघर्ष गर्दै छ। देशै भरी पार्टीका तयारी कार्यक्रमहरु चलिरहेका छन् । ती कार्यक्रमहरुमा पुग्ने, योजना वनाउने र तयारी गराउने काममा व्यस्त छन् – “वुढाहरु” । नाइट वस चड्छन् र पुर्व देखि पश्चिम पुग्छन् । सेड्युल सुन्दा पनि जिरिङ्ग हुन्छ ।

यो दौडधुप के को लागि? के जरुरी छ त्यसो गर्न? आफ्नो कुनै स्वार्थ छ? कसैले भनिदियोस् मलाई उनिहरुको स्वार्थ ! जीवनको उत्तरार्धमा पुगेका यी “बुढाहरु” हामी “युवाहरु”को भविष्य खोजेर दौडिएका हुन् । यो देशको भविष्य, जनताको भविष्य र नयाँ पुस्ताको भविष्य । उनिहरु भन्दै छन् – संघीयता रह्यो भने त्यसले देशलाई आर्थिक संकटमा धकेल्छ, देशको भौगोलिक अखण्डतामा असर गर्छ । देशको भविष्यलाई निमोठ्छ ।

अहिले हामी युवाहरुको साथ, सहयोग र समर्थनको जरुरी छ उनिहरुलाई । आन्दोलनको लागि । संघर्षको लागि । संघीयतालाई फ्याँक्नको लागि । देशको भविष्य अर्थात हाम्रो भविष्यको लागि । अहिले सिरक मुनि वस्ने, तातो चिया पिउँदै “वुढाहरु”को आलोचना गर्ने र कुरा पकाउने वेला होइन । नत “वुढाहरु”को होस हराएको घोषणा गर्ने वेला हो!

यो युद्धको वेला हो । विचारको बन्दुक बोकेर, देशको स्वाभिमानका लागि लड्ने वेला हो । आफ्नो भविष्यको लागि “वुढाहरु”को पदचापलाई पछ्याउँदै संघर्षको मैदानमा हुने वेला हो । कमरेडहरु सिरक फालेर निक्लौं, आत्मघाती वम बोकेर नहिडौं ।
लालसलाम!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation