शंकर प्रसाद पोख्रेल
बागलुङ। अवसरवाद, भ्रष्टाचार र जनविरोधी राजनीतिविरुद्ध बागलुङ–१ मा वाम शक्तिले निर्णायक चुनौती प्रस्तुत गरेको छ। राष्ट्रिय जनमोर्चा (राजमो) का तर्फबाट र नेपाली कम्युनिष्ट पार्टीको ठोस साथ र समर्थनमा कृष्ण अधिकारीले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराइसकेका छन्। अब फागुन २१ गते हुने निर्वाचनले बागलुङ–१ मा कसको राजनीति चाहिन्छ भन्ने अन्तिम फैसला गर्नेछ।
कृष्ण अधिकारी कुनै हावादारी उम्मेदवार होइनन्। उनी नेपाली कम्युनिष्ट आन्दोलनको भट्टीमा खारिएका, संघर्षबाट उठेका र जनताको पक्षमा उभिएका नेता हुन्। विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका अधिकारीले जीवनभर शोषण, दमन र अन्यायविरुद्ध संघर्ष गर्दै आएका छन्। संसदलाई सौदाबाजीको थलो बनाउनेहरूका लागि उनी चुनौती हुन्, र जनताको आवाज दबाउने शक्तिहरूका लागि उनी खतरा हुन्।
राजमोभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टी सचिवको भूमिकासमेत निर्वाह गरिसकेका अधिकारी वैचारिक रूपमा स्पष्ट र व्यवहारमा इमानदार नेताका रूपमा चिनिन्छन्। भाषणमा मात्र होइन, व्यवहारमा पनि जनताको पक्षमा उभिने नेता भएकाले कार्यकर्ता र सर्वसाधारणबीच उनको गहिरो भरोसा रहेको छ।
यसपटकको निर्वाचन सामान्य प्रतिस्पर्धा होइन, यो विचारको युद्ध हो। एकातिर ठूला दलहरूको सत्तालिप्सा, भ्रष्टाचार र अवसरवाद छ भने अर्कोतिर राजमो र नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधित्व गर्ने इमानदार, संघर्षशील र जनमुखी राजनीति छ। यही कारण कृष्ण अधिकारीलाई साझा उम्मेदवारका रूपमा अघि सारिएको हो।
नेपाली कम्युनिष्ट पार्टीको साथ र समर्थनले बागलुङ–१ मा वाम तथा प्रगतिशील शक्तिको एकता थप मजबुत भएको छ। दुई पार्टीले संयुक्त रूपमा चुनावी मैदानमा उत्रँदै जनविरोधी नीतिहरू, साम्राज्यवाद, विस्तारवाद र नवउदारवादी शोषणको विरुद्ध सशक्त आवाज उठाइरहेका छन्। यो एकता केवल चुनावका लागि होइन, जनताको पक्षमा दीर्घकालीन संघर्षका लागि हो।
कृष्ण अधिकारी सामाजिक न्याय, समानता र जनअधिकारका प्रश्नमा सम्झौता नगर्ने नेता हुन्। जातीय छुवाछूत, वर्गीय विभेद, महिला उत्पीडन र श्रमिक शोषणविरुद्ध उनले निरन्तर संघर्ष गर्दै आएका छन्। किसानका पसिना सस्तोमा किन्ने, युवालाई बेरोजगार बनाएर विदेश धकेल्ने र जनताको नाममा राजनीति गरेर दलाल पूँजीको सेवा गर्ने प्रवृत्तिको उनी खुला विरोधी हुन्।
बागलुङ–१ का किसान, मजदुर, श्रमिक, युवा र महिलाहरू आज परिवर्तनको खोजीमा छन्। कृषि उपजको उचित मूल्य, रोजगारीको ग्यारेन्टी, निःशुल्क र गुणस्तरीय शिक्षा–स्वास्थ्य, सडक र पूर्वाधार विकास तथा युवाको पलायन रोक्ने सवाललाई अधिकारीले चुनावी एजेन्डामात्र होइन, संघर्षको मुद्दा बनाएका छन्।
मनोनयन दर्ता सम्पन्न भएसँगै बागलुङ–१ मा चुनावी माहोल तातिएको छ। राजमो र नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ता टोल–टोल, गाउँ–गाउँ र बस्ती–बस्तीमा पुगेर जनतालाई संगठित गरिरहेका छन्। कोणसभा, जनसंवाद र घरदैलो अभियानमार्फत “सत्ता होइन, संघर्षशील प्रतिनिधि चाहिन्छ” भन्ने सन्देश जनतामाझ पुर्याइँदैछ।
कृष्ण अधिकारी स्वयंले पनि यो चुनावलाई व्यक्तिगत जित–हारको विषय नभई जनताको पक्षमा राजनीति स्थापित गर्ने निर्णायक लडाइँका रूपमा लिएको बताएका छन्। उनले भनेका छन्, “संसद जनताको पीडा सुनिने ठाउँ बन्नुपर्छ, दलाल र भ्रष्टहरूको अखडा होइन। म जनताको आदेश लिएर संसद जानेछु।”
राजनीतिक विश्लेषकहरूका अनुसार बागलुङ–१ मा वाम शक्तिको यो संयुक्त चुनौतीले चुनावी समीकरण बदलिने संकेत देखिएको छ। विगतदेखि नै वैकल्पिक र संघर्षशील राजनीतिप्रति आकर्षण रहेको यस क्षेत्रमा कृष्ण अधिकारीको उम्मेदवारीले जनआकांक्षालाई स्पष्ट दिशा दिएको विश्लेषण गरिएको छ।
अब सबैको नजर फागुन २१ गतेमा केन्द्रित छ। त्यो दिन बागलुङ–१ का मतदाताले भ्रष्टाचार र अवसरवाद रोज्ने कि इमानदार र संघर्षशील प्रतिनिधि चयन गर्ने भन्ने निर्णय गर्नेछन्। यो निर्वाचन केवल एक सिटको लडाइँ होइन, जनताको पक्षमा राजनीति बाँच्ने कि मर्ने भन्ने सवालको फैसला हो।











