
मोहनविक्रम सिंह
जलजलाले सम्पूर्ण सौर्य जगत्, दुधपथ (मिल्की वे), तारामण्डल र सुदूर अन्तरीक्षका अर्बौं तारामण्डलको परिभ्रमण गरेपछि पृथ्वीतिर फर्किन् ।
‘कामरेड जलजला’ उपन्यासमा लेखिएको छ– टाढैबाट जलजलाले पृथ्वीलाई देखिन् । त्यो एउटा निलो पिण्डजस्तै थियो । एउटा फुटबलजस्तै । त्यो आकाशमा घुमिरहेको थियो ।
उपन्यासमा अगाडि लेखिएको थियो : उनले मन्त्रमुग्धजस्तै भएर त्यो पिण्डलाई हेरिरहिन् ।
त्यो उनको पृथ्वी थियो । आफ्नो पृथ्वी । उनको मनमा त्यसप्रति अगाध स्नेह र आत्मीयताको भाव पैदा भयो । उनले त्यसलाई नमस्कार गरिन् ।
आज प्रथमपल्ट सम्पूण पृथ्वीप्रति उनका मनमा अगाध स्नेह र आत्मीयताको भाव पैदा भएको थियो । उनलाई यस्तो अनुभूति भइरहेको थियो, सम्पूर्ण संसार नै उनको घर थियो । संसारका सारा मानिस उनको परिवारका सदस्य थिए ।
उनले संस्कृतका कतिपय ग्रन्थमा विश्वबन्धुत्वको भावबारे पढेकी थिइन् तर अहिलेसम्म उनका लागि यो एउटा अर्थहीन शब्द मात्र थियो । आज उनले विश्वबन्धुत्वको प्रत्यक्ष रूपले नै अनुभूति गरिरहेकी थिइन । उनलाई यस्तो लागिरहेको थियो, उनको सम्पूर्ण शरीर, शरीरका सवै अङ्ग, उनको शरीरका सबै नसा र उनका सबै भावना विश्वबन्धुत्व भावले ओतप्रोत भएका थिए । त्यसरी उनी चरम सुख र आनन्दको अवस्थामा पुगेकी थिइन् ।
आज अन्तरिक्षबाट पृथ्वीतिर फर्किंदा पहिले कहिल्यै नभएको नयाँ प्रकारको अनुभूति भइरहेको थियो । पहिले पहिले बाहिर कतैतिर, काठमाडौँ, वीरगञ्ज, बुटवल, गोरखपुर, बनारस, प्युठान, बागलुङ आदि कतैतिर गएर आफ्नो घर तोरीखेततिर फर्किंदा उनका मनमा आफनो घर वा गाउँतिर फर्कनका लागि ठुलो उत्सुकता, उत्साह वा एक प्रकारको आत्तुरी भरिएको हुन्थ्यो । त्यो बेला उनका मनमा विचित्र प्रकारको भाव भरिएको हुन्थ्यो । घरको नजिक पुग्दा उनी आफ्नो घरतिर दुगरेरझैँ गरेर जान्थिन् । उनको घर उही हुन्थ्यो । उनको गाउँ उही हुन्थ्यो तर उनलाई अकस्मात यस्तो लाग्दथ्यो, उनका लागि ती सबै नयाँ बनेका थिए । जब उनी घरभित्र पस्दथिन्, त्यो क्षण उनका लागि अत्यन्त सुखद हुन्थ्यो । उनले दुगुर्दै गएर आफनो बुबा र आमालाई अँगालो हाल्दथिन् । उनका भाइबहिनीहरू दुगुर्दै उनका नजिक आउँदथे र उनलाई घेर्दथे । कति प्रशन्ताको क्षण हुन्थ्यो त्यो ?
आज पृथ्वीतिर फर्कदा उनलाई त्यस्तै सुखद अनुभूति भइरहेको थियो । आज उनलाई अन्तरिक्षबाट पृथ्वीतिर फर्कदा सारा संसार नै आफ्नै गाँउ र घर जस्तो लागिरहेको थियो र ती सवैप्रति उनका मनमा गहिरो आत्मियताको भाव देखा परिरहेको थियो । त्यसरी उनले सम्पूर्ण संसारप्रति विश्वबन्धुत्वको भावको अनुभूति गरिरहेकी थिइन् ।
उनले मार्क्सवादी पुस्तकमा सर्वहारा अन्तर्राष्ट्रवादबारे पढेकी थिइन् । आज उनले सारा संसार वा संसारका सबै शोषितपीडित जनताप्रति वा विश्वमा समाजवाद वा साम्यवादका लागि सङ्घर्ष गरिरहेका सबै क्रान्तिकारीप्रति त्यही प्रकारको सर्वहारा अन्तर्राष्ट्रवाद भावको अनुभूति गरिरहेकी थिइन् ।
उनले सानैदेखि नै पृथ्वीको भूगोल पढ्दै आएकी थिइन् । संसारका विभिन्न महादीप, महासागर तथा विभिन्न देशका जनता, प्राकृतिक संरचना आदिबारे पढ्दै आएकी थिइन् तर आज उनलाई लागिरहेको थियो कि उनले पृथ्वीवारे अहिले जे जति जानेकी वा पढेकी थिइन्, त्योभन्दा नयाँ र महत्त्वपूर्ण रूपमा उनका अगाडि देखा परेको थियो । उनले ब्रह्माण्ड वा अन्तरिक्षको ठुलो भागको परिक्रमा गरेकी थिइन् । ब्रह्माण्डको त्यो भाग पृथ्वीभन्दा लाखौँ, अर्वौं, खर्वौं विशाल थियो । ती सबैका तुलनामा पृथ्वी एउटा सानो कणजस्तो मात्र थियो । त्यही पनि अहिले उनलाई यस्तो लागिरहेको थियो । उनको पृथ्वी त्यो सम्पूर्ण ब्रह्माण्डभन्दा महत्त्वपूर्ण थियो । उनले अहिलेसम्म परिभ्रमण गरेको ब्रह्माण्डमा कतै नभएको चिज पृथ्वीमा थियो । त्यो थियो जीवन । अन्यत्र ता सामान्य वनस्पती पनि थिएन । कुनै प्राणी वा प्राणवायुसम्म थिएन । त्यस अर्थमा सम्पूर्ण ब्रह्माण्डभन्दा पृथ्वी धेरै महत्त्वपूर्ण थियो ।
यो सम्भावनालाई उनले अस्वीकार गर्न सक्दैनथिन् कि त्यो विशाल ब्रह्माण्डमा अन्यत्र पनि कतै जीवन हुन सक्दथ्यो । पृथ्वीभन्दा उन्नत वा कैयन् सभ्य प्राणी हुन सक्दथ्ये तर उनले भ्रमण गरेको कुनै तारामण्डलमा उनले त्यस्तो देखेकी थिइन् । त्यसैले उनलाई लाग्यो, एउटा सानो कणजस्तो भए पनि पृथ्वी धेरै महत्त्वपूर्ण थियो ।
उनको ध्यान पृथ्वीका हरिया जङ्गल र पहाडतिर गयो । त्यहाँका खेतका ठुल्ठुला फाँटतिर गयो । त्यहाँ खेलिरहेका हजारौँ प्रकारका जनावरतिर गयो । हजारौँ प्रकारका चराचुरुङ्गी, समुद्रका माछातिर उनको ध्यान गयो । उनको घरका वरिपरि प्रायःजसो हिँडिरहने कमिलाका ताँतीतिर गयो । हजारौँ प्रकारका खेतीपाती, फलफूलतिर गयो । ती सबै विशाल ब्रह्माण्डमा कतै थिएनन् र ती सबै पृथ्वीमा मात्र थिए ।
ती सबैलाई सम्झेर उनको मनमा सम्पूर्ण पृथ्वीप्रति धेरै नै माया लागेर आयो । उनले धेरै टाढा घुमिरहेको सानो डल्लोजस्तो निलो रङ्गको पृथ्वीलाई हेरिन् र त्यसलाई समातेर आफ्नो छातीमा टाँसेर अँगालो हाल्न मन लाग्यो । त्यसरी उनले सम्पूर्ण पृथ्वीप्रति आफ्नो माया प्रकट गर्न चाहन्थिन् तर उनी जति जति त्यसको नजिक पुग्दै थिइन, त्यसले झन् झन् ठुलो आकार ग्रहण गर्दै गइरहेको थियो ।
संसारका कैयौ दृश्य उनको आँखाका अगाडि आउँदै र जाँदै गर्न थालेका थिए । सर्वप्रथम उनको ध्यान उत्तरी धुव्रतिर गयो । त्यो भूभाग पूरै हिउँले ढाकिएको थियो । त्यहाँ रङगीविरङ्गी कैयन् दृश्य देखा परिरहेका थिए । ती दृश्य देखेर उनले मन्त्रमुग्ध भएर तिनीहरूलाई हेर्न थालिन् । सूर्य, बतास, उत्तरी धुव्रको हिउँमा प्रतिबिम्बित भएर त्यस प्रकारको मनोरम दृश्य देखा परेको थियो ।
अकस्मात उनको ध्यान एसियाको मध्यभागमा रहेको हिमालय शृङ्खलातिर गयो । पूर्वबाट पश्चिमतिर फैलिँदै गएको हिमालयको त्यो दृश्य अत्यन्तै सुन्दर थियो । त्यो हिमालयको बिचमा संसारको सबैभन्दा उच्च शिखर सगरमाथा थियो । उनले कैयन् बेरसम्म एकटक लगाएर सगरमाथाको शिखरलाई हेरिरहिन । यो सोचेर उनको मनमा गर्वको अनुभूति भयो कि त्यो सगरमाथा उनको देशमा थियो र त्यसको काख पनि उनको देश नेपाल बसेको थियो ।
उनले संसारका विभिन्न दृश्य हेर्दै थिइन् । त्यही बेला एउटा अफ्रिकाको मध्यभागबाट आएको एउटा ठुलो गर्जनले उनको ध्यान भङ्ग भयो । त्यो जाम्बिया र जिम्बाबेको बिचमा रहेको भिक्टोरिया छहराको आवाज थियो । त्यसका छहरा आकाशसम्म पुगेका देखिन्थे ।
उनले अकस्मात संसारका कैयन् भागमा विछोड भएर बाहिर आउन थालेका ज्वालामुखीका आवाज सुन्न थालिन् । उनले देखिन्– संसारका कैयन् भागमा त्यस प्रकारका ज्वालामुखीको विस्फोट भइरहेको थियो । यहाँसम्म कि समुद्रका गर्भबाट पनि त्यसरी ज्वालामुखीको विस्फोट भइरहेको आवाज आइरहेको थियो । त्यस प्रकारका ज्वालामुखीका कारणले समुद्रमा ठुल्ठुला गगनचुम्बी छाल उठिरहेका देखिन्थे ।
पृथ्वी छिटो छिटो कुदिरहेको थियो र त्यो क्रममा पृथ्वीका कैयन् दृश्य आउने र जाने गरिरहेका थिए । उनका अगाडि अक्रस्मात अमेरिकाको विशाल जङ्गल आयो । उनले आश्चर्यचकित भएर त्यो जङ्गललाई हेरिन् । त्यो संसारको सबभन्दा ठुलो जङ्गल थियो र त्यसले पृथ्वीलाई बिस प्रतिशत अक्सिजन प्रदान गर्दथ्यो । त्यसैले त्यो जङ्गललाई पृथ्वीको फोक्सो पनि भन्ने गरिन्थ्यो तर छिटै त्यो उनका आँखाका अगाडिबाट अदृश्य भएर गयो ।
उनका अगाडि एउटा विशाल दृश्य आयो । त्यो अमेरिकाको ऐरिजोनाको घाँटी थियो । त्यो अत्यन्त लामो, चौडा र धेरै नै गहिरो पनि थियो । उनले कैयन् बेरसम्म त्यो घाँटीलाई हेरिरहिन ।
छिटो छिटो घुमिरहेको पृथ्वीमा उनका आँखाका अगाडि कैयन् दृश्य आउने र जाने गरिरहेका थिए । उनले संसारका कैयन् ठुल्ठुला महासागर देखिन् अनि उत्तर र दक्षिण धुव्रका हिउँका विशाल महासागर देखेर उनी आश्चर्यचकित भइन् । सम्पूर्ण ब्रह्माण्डको तुलनामा पृथ्वी एउटा सानो कणजस्तो मात्र थियो । त्यही पनि त्यसमा कति धेरै विचित्रता थिए ?
पृथ्वीको परिक्रमा गर्दागर्दै एक आन्ध्र महासागरको बिचमा पुगेको बेलामा एक ठाउमाँ उनलाई तलबाट कुनै चिजले आफूतिर तानेजस्तो महसुस भयो । उनलाई त्यो बुझ्न बेर लागेन कि त्यो बरमुडा त्रिकोण थियो । त्यो त्रिकोणमा पुगेका पानीजाहाज वा हवाइजहाजलाई तलबाट खिच्ने गरिन्थ्यो । त्यसरी कैयन् पानीजहाज वा हवाइजहाज नष्ट हुने गरेका थिए । त्यस्तो किन हुने गर्दथ्यो ? त्यो रहस्यको विषय बनेको थियो ।
उनले कैयन् बेरसम्म प्रसान्त महासागरलाई हेरिरहिन् । यो भन्ने गरिन्थ्यो कि जुन ठाउँमा अहिले प्रसान्त महासागर छ, त्यो ठाउँमा पहिले जमिनको ठुलो भाग थियो । आकाशबाट आएको कुनै पिण्ड त्यहाँ खसेपछि त्यहाँबाट कैयन् चट्टान उडेर आकाशतिर गएका थिए र ती चट्टान मिलेर नै चन्द्रमा बनेको थियो भने त्यो ठाउँमा प्रसान्त महासागर बनेको थियो । कति विचित्र कुरा थियो त्यो ?
त्यही प्रकारको विचित्रको कुरा हिमालयको पनि थियो । पहिले विशाल टेथिस महासागर थियो तर पछि त्यही ठाउँमा हिमालय खडा भएको थियो । करोडौँ वर्षको भौगर्भिक विकासको परिणामस्वरूप हिमालय समुद्रमा बदलिएको थियो ।
उनको ध्यान महासागरबाट हटेर थलतर्फ गयो । सर्वप्रथम उनको ध्यान जापानतिर गयो । त्यो सूर्योदयको देश थियो । त्यसले थोरै समयमा नै यति धेरै विकास गरेको थियो कि सम्पूर्ण एसियाले त्यसका लागि गर्व गर्न थालेको थियो । त्यसको त्यो विकास मानव जातिको कल्याणको लागि हुनुपर्दथ्यो तर त्यसले जे जति विकास गरेको थियो वा जे जति शक्तिआर्जन गरेको थियो, त्यो सबै मानवताको विनाशका लागि उपयोग भयो ।
त्यसले दक्षिणपूर्वी एसिया र चीनमाथि आक्रमण गरेर आफ्नो साम्राज्य विस्तार गर्ने काममा लाग्यो । त्यो सोच्दासोच्दै उनको ध्यान यो कुरातिर गयो कि जापानले कोरियाका दुई लाख महिलालाई अपहरण गरेर लगेर तिनीहरूलाई वेश्यावृत्तिको काममा लगाएको थियो । खास गरेर उनीहरूलाई सेनाको वेश्याको रूपमा उपयोग गरिएको थियो । त्यस प्रकारका महिलामा सामान्य गृहस्थी, डाक्टर, नर्स, प्रोफेसर, कलाकार, इन्जिनियर, बुद्धिजीवप्, वैज्ञानिक आदि थिए ।
जापानको त्यस प्रकारको कुकृत्य सम्झेर जलजलालाई धेरै दुख लागेर आयो । उनको मनमा त्यो घटनाप्रति ठुलो क्षोभ र घृणाको भाव पनि पैदा भयो । त्यो कति तल्लो हदसम्मको पतन थियो ? त्यो वास्तवमा खालि जापानको मात्र होइन, सम्पूर्ण मानव जातिको कलङ्क थियो ?
उनको मनमा बारम्बार त्यो कुरा घुमिरहयो, त्यो घटनाको कारणले ती महिलाहरू कति धेरै रिसाए होलान ? कति धेरै रोए होलान ? उनीहरूको आँखाबाट कति धेरै आँसु खसे होलान । एक जना होइन, दुई जना होइन, वर्षौंवर्षसम्म उनीहरू त्यसरी प्रताडित हुनुपरेको थियो होला । ती वर्षमा उनीहरूको जवानी सिद्धिएको थियो होला र उनीहरू वृद्ध हुँदै गए होलान् । क्रमशः उनीहरूको मृत्यु हुँदै गए होलान् । कति भयानक र दुखद थियो होला उनीहरूको मृत्यु ?
ती महिलाका आँखाबाट खसेका आँसुबाट कैयन् महासागर बन्दथे होला । उनिहरूको मनमा पैदा भएको क्षोभ र घृणाबाट प्रज्ज्वल आँधी र तुफान उठ्न सक्दथ्यो होला । त्यसले सम्पूर्ण संसारलाई भष्म गर्न सक्दथ्यो होला । उनीहरूको मनमा उठेको कम्पनबाट एउटा महाभूकम्प आउन सक्दथ्यो होला ।
कुरा ती महिलाको मात्र थिएन, उनीहरूका पति थिए होलान्; छोरा थिए होलान्† अनि उनीहरूका लाखौँलाख इष्टमित्र पनि । सम्पूर्ण कोरिया जनता ती सबै कति धेरै मर्माहित र उद्वेलित भएका थिए होलान् ?
उनीहरूलाई पानीजहाजमा हालेर जापानतिर लगिएको थियो होला । त्यो बेला उनीहरू सबै रोइरहेका थिए होलान् तर उनीहरूलाई अपहरण गरेर लैजाने जापानी सिपाहीहरू हाँसिरहेका थिए होलान् । रमाइरहेका थिए होलान् । कति विरोधाभाष थियो त्यो दृश्यमा ?
त्यसरी अपहरण गरेर जापान लैजान थालेका प्रत्येक महिलाबारे महाकाव्य लेखिन सक्दथे । उपन्यास लेखिन सक्दथे । मोनालिसाजस्ता चित्र बनाउन सकिन्थ्यो होला । के ती महाकाव्य, उपन्यास वा चित्रले पनि ती महिलाका सम्पूर्ण मनोभावलाई व्यक्त गर्न सक्थे ?
त्यो बेला ती महिलाका हृदयमा उठेका भावबाट सायद संसारका सवै महासागरमा भन्दा कैयन् गुना गहिरा महासागर बन्न सक्दथे होला । संसारका सबै ज्वालामुखी, आँधीतुफान, भूकम्पभन्दा पनि तिनीहरू कैयन् गुणा बढी निर्माण हुन् सक्थे होलान् ।
अब त्यो घटना घटेको लामो समय बितिसकेको छ† पुगनपुग एक शताब्दीको लामो समय भइसकेको छ तर त्यो बेला उनीहरूको मनमा जुन भावना प्रकट भएका थिए, सायद अहिले पनि ती आकासमा वा सुदूर अन्तरिक्षसम्म अहिले पनि कतै विद्यमान छन् । सायद उनीहरूले भ्रमण गरेको सम्पूर्ण ब्रह्माण्डभन्दा बाहिर छ । टाढाटाढासम्म पनि ती अहिले पनि विद्यमान छन् र युगसम्म ती त्यसरी नै रहिरहनेछन् ।
ती सबै कुरा सोचेर जलजला धेरै भावुक भइन । उनले एकपल्ट सुदूर अन्तरिक्षतिर हेरिन् अनि पृथ्वीतिर ।
पृथ्वी अहिले पनि छिटो छिटो आफ्नो कक्षामा घुमिरहेको थियो ।