नेपाल इरानसँग पराजित

 

८ कात्तिक, रुपन्देही  । भारतको शिलङस्थित जवाहरलाल नेहरु मैदानमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल इरानसँग ३–० ले पराजित भएको छ। यससँगै इरानले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ।

नेपालले पहिलो हाफ गोलरहित बराबरीमा रोक्न सफल भए पनि दोस्रो हाफमा मात्र १० मिनेटभित्र तीन गोल व्यहोर्नु पर्‍यो। खेलको ४७औं मिनेटमा सारा दिदारले पहिलो गोल गर्दै इरानलाई अग्रता दिलाइन्। उनले भारतविरुद्धको अघिल्लो खेलमा नै दुई गोल गरेको प्रभाव निरन्तरता दिइन्। त्यसपछि ५३औं मिनेटमा जाहरा घानबारी र ५७औं मिनेटमा सबनम बेहेसितले गोल थपेपछि नेपाल खेलमा फर्कने अवसर गुमायो।

नेपालका लागि हिरा कुमारी भुजेलले लामो समयपछि पहिलो रोजाइमा फर्केकी थिइन् भने पूर्व कप्तान गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि पुनरागमन खेलमै सुरुवात गरिन्। तर तीन गोल व्यहोरेसँगै दोस्रो हाफमा अन्जना राना मगरले उनलाई रिप्लेस गरिन्। त्यसैगरी दीपा शाहीले पनि सब्स्टिट्यूटको रूपमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरिन्।

मुख्य प्रशिक्षक नविन न्यौपानेले महिला राष्ट्रिय टिमको प्रशिक्षकको रूपमा डेब्यु खेल खेलेका थिए। तर सुरुवाती खेलमै पराजयपछि अब नेपालले १० कात्तिकमा भारतसँग हुने अन्तिम खेलमा जित निकाल्ने चुनौती छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation