शंकर प्रसाद पोख्रेल ,बुटवल
काठमाडौं, जेठ १८ :मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
समाजका अध्यक्ष प्रेम पौडेलद्वारा जारी प्रेस वक्तव्यमा उक्त अभिव्यक्तिलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएको भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। वक्तव्यमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत नेपाली भूभाग अतिक्रमण गरेको विषय सर्वविदित रहेको उल्लेख गर्दै नेपालको भूमि फिर्ता गराउनु र राष्ट्रिय सीमाको रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताइएको छ।
संगठनले देशको कार्यकारी प्रमुखबाट आएको यस्तो अभिव्यक्तिले राष्ट्रियताको भावनामा आघात पुर्याएको दाबी गरेको छ। साथै, आफ्नो स्थापना कालदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा संघर्षरत रहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।
वक्तव्यमा वर्तमान सरकारले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाउँदै फासिवादी शैलीमा शासन सञ्चालन गरिरहेको आरोप समेत लगाइएको छ। नागरिकका अधिकारमाथि अंकुश लगाउने प्रयास भइरहेको तथा वैकल्पिक बसोबासको व्यवस्था नगरी विभिन्न बस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित बनाइएको दाबी गरिएको छ।
समाजले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध भएर संघर्षमा उत्रिन विशेष आह्वान समेत गरेको छ।











