बुटवल, जेठ २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशन जेठ २४ गते शुक्रबार माणिग्राममा हुने भएको छ। पार्टी स्थापना भएको छोटो समयमै संगठन विस्तार र जनविश्वास हासिल गर्न सफल भएको भन्दै अधिवेशनले संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
रास्वपा रुपन्देहीका जिल्ला सभापति डा. युवराज शर्मा अनुसार अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै संगठनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। अधिवेशनअघि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन् भने ती क्षेत्रबाट नयाँ नेतृत्वसमेत चयन गरिएको छ।
गत आम निर्वाचनमा रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा जित हासिल गरेको र थप पाँच समानुपातिक सांसद निर्वाचित गराउन सफल भएको रास्वपाले जिल्लामा आफ्नो प्रभाव विस्तार गर्दै आएको जनाएको छ। पार्टीले जनकेन्द्रित अभियान, संगठन विस्तार तथा नागरिकमुखी गतिविधिलाई प्राथमिकतामा राख्दै आएको बताएको छ।
रास्वपाले अधिवेशनमार्फत संगठनलाई थप मजबुत बनाउने, नयाँ नेतृत्वलाई जिम्मेवारी दिने तथा आगामी राजनीतिक रणनीति तय गर्ने जनाएको छ।











