काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी बीच बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हित, आर्थिक सहकार्य तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
भेटपछि प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले सामाजिक सञ्जालमार्फत रवि लामिछानेसँग भेटवार्ता भएको जानकारी सार्वजनिक गरेका छन्। उनले रवि लामिछानेसँग भेट गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने उनको इच्छाको स्वागत गरेका छन्।
मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (पडोसी पहिलो) नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरी नेपाल–भारतबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन भारत उत्सुक रहेको बताएका छन्।
रवि लामिछानेको भारत भ्रमणका क्रममा भएको उक्त भेटलाई नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने तथा दुई देशबीचको राजनीतिक र कूटनीतिक संवादलाई नयाँ आयाम दिने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।











