शंकर प्रसाद पोख्रेल बुटवल ,
नयाँ दिल्ली, जुन २ , मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको १२ औँ नियमित बैठकले जनकराज पौडेल (पाण्डेश्वरी)लाई समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
मे ३१, २०२६ मा सम्पन्न बैठक अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा तथा केन्द्रीय अध्यक्ष प्रेम पौडेल र केन्द्रीय कोषाध्यक्ष चन्द्रकान्त शर्माको विशेष उपस्थितिमा बसेको थियो। बैठकले विभिन्न संगठनात्मक निर्णयहरू गर्दै नयाँ नेतृत्व चयन गरेको जनाएको छ।
बैठकमा अध्यक्ष चन्द्रबहादुर थापाले अन्य संगठनात्मक कार्यव्यस्तताका कारण अध्यक्ष पदबाट हट्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव अनुमोदन गर्दै बैठकले तत्कालीन सचिव जनकराज पौडेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, रिक्त भएको सचिव पदमा सचिवालय सदस्य कासिराम सर्माब (चेन्नई उत्तर) लाई मनोनयन गरिएको छ। बैठकले सदस्यता अभियानलाई तीव्रता दिने, संगठन विस्तारलाई प्रभावकारी बनाउने तथा संगठनलाई थप सशक्त बनाउने निर्णय समेत गरेको जनाएको छ।
बैठकले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा उक्त अभिव्यक्तिलाई गैरजिम्मेवार, अपरिपक्व, तथ्यहीन र भ्रमपूर्ण भएको उल्लेख गर्दै भर्त्सना गरिएको छ।
दक्षिण भारत क्षेत्रीय समितिद्वारा जारी विज्ञप्तिमा संगठनको एकता, विस्तार र राष्ट्रिय हितका सवालमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ।












