
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
किरण पौडेल, काठमाडौँ ।
दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सार्वजनिक सवारी चढ्न थालेपछि एकाएक चर्चामा आए राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । केसी र रास्वपाबिच खास सम्बन्ध छैन । केसीसँग रास्वपाको न राजनीतिक विचार मिल्छ, न अहिलेसम्म सहकार्य भएको छ ।
जब रास्वपाका नेताहरू सार्वजनिक यातायात चढेका तस्बिर सार्वजनिक भए, केसीका तस्बिर पनि बाहिरिन थाले । काठमाडौँमा रास्वपाका नेताहरू जुन सडकमा पाँच दिन बस चढ्दै थिए, त्यही सडकमा २५ वर्षदेखि भाडाका साधनमा ओहोरदोहोर गर्दै आएका छन्, पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसी ।
पार्टी कार्यालयबाट संसद् भवन पुग्दा होस् वा अन्य जरुरी काम पर्दा केसी सार्वजनिक यातायात चढ्छन् । उनी एकै दिनमा चारपटक सम्म बस चढ्छन् । संसद् भवन नयाँबानेश्वर जाँदा केसी कपनको ज्योतिनगरबाट चाबहिलसम्म एउटा र चाबहिलबाट नयाँ बानेश्वरसम्म अर्को बस/ट्याम्पो चढ्छन् अनि संसद् भवनबाट फर्किंदा फेरि दुईपटक भाडाका गाडी चढ्छन् ।
रास्वपाका नेताले सार्वजनिक यातायात चढेर जनताको स्थिति बुझ्छौँ भन्दा धेरैले हाँसीमजाक गरे । रास्वपाको त्यो निर्णय लोकप्रियताका लागि मात्रै भनेर आलोचना भयो । रास्वपाका अधिकांश नेता विलासी गाडी चढ्छन् । पाँच दिन भाडाका गाडी चढेर तस्बिर खिचाउँदैमा केही नहुने आलोचकहरूको भनाइ थियो । केसी भने रास्वपाको निर्णय हास्यास्पद ठान्छन् ।
‘बस चढ्दै जनता बुझिने बुझाइलाई म के भनौँ र ?’ उनी त सार्वजनिक यातायात चढ्दाको आफ्नो तस्बिर भाइरल हुनुलाई अनौठो मानिरहेका छन् ।
‘म २५ वर्षदेखि सार्वजनिक यातायात चढिरहेको छु । यति बेला चर्चामा आयो’ केसी घुमाउरो शैलीमा भन्छन्– ‘म लाटो रहेछु । हल्ला बिना बस चढिइरहे ।’
केसीको उमेर ८४ वर्षको भयो । शरीरमा रोग बढे । केही पद पनि पाए । हाउभाउ उस्तै छ । २९ वर्षअघि उनी राष्ट्रिय जनमोर्चाका अध्यक्ष थिए, अहिले पनि सोही पदमा छन् । केसी प्रतिनिधिसभाका सांसद हुन् ।
तीनपटक चढे सरकारी गाडी
केसीले महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा सरकारी गाडीको सुविधा पनि लिएका छन् । केसी हालसम्म तीनपटक सरकारी सुविधाको गाडी चढेको बताउँछन् । पहिले, सार्वजनिक लेखा समितिको सभापति बन्दा, दोस्रो, उपप्रधानमन्त्री बन्दा र तेस्रो गत वर्षको सुरुवातीमा । केसी २०६३ सालको अन्तरिम संसद्मा लेखा समितिका सभापति बनेका थिए । त्यसबेला नौ महिना उनले पहिलोपटक सरकारी गाडी चढे ।
त्यस बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा सभापति बनेको उनी बताउँछन् । अर्को कुरा, उनलाई सभापतिले गाडी पाउँछ भन्ने पनि थाहा थिएन । ‘मलाई गाडी नदिनुहोस् भन्दा संसद् सचिवालयका कर्मचारीले लिनुहोस् भने’ केसी सम्झन्छन्।
दोस्रो पल्ट उनी उपप्रधानमन्त्री हुँदा सरकारी गाडी चढे । केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्दा केसी उपप्रधानसहित सहकारी तथा गरिबी निवारणमन्त्री बनेका थिए ।
‘पदमा पुगेपछि गाडी चढ्दैपर्ने बाध्यता हुँदो रहेछ’ केसी भन्छन्– ‘थोरै समयमा धेरै काम गर्नुपर्ने समय नै नहुने ।’ २०८० सालमा केही महिना उनी सरकारी गाडी चढे ।
रविको विरोधपछि प्रचण्डले खोसे गाडी
प्रचण्ड प्रधानमन्त्री रहेकै बेला सर्वदलीय बैठकमा प्रस्ताव आयो, केसीले गाडी चढ्नुपर्छ । प्रस्ताव गर्ने व्यक्ति प्रचण्ड थिए । ‘वृद्ध हुनुभयो । गाडी चढ्नुहोस् बैठकमा भनियो’ केसी सम्झन्छन्– ‘होइन, पर्दैन । मेरो चलेकै छ । मैले भनेँ ।’
केसीले त्यसपछि लगभग छ महिना सरकारी गाडी चढे । उनको गाडी एकाएक खोसियो ।
‘एक दिन संसद् भवन जान ड्राइभरलाई फोन गरेको ‘गाडी त छैन, गृहमन्त्रीले फिर्ता लैजाने कुरा छ भनेर ड्राइभरले भने’ केसी थप्छन्– ‘म तपाईंलाई आज लिएर संसद् भवन जान्छु अनि सिंहदरबार पुगेर बुझाइदिन्छु भनेर ड्राइभरले भने तर मैले पर्दैन म सार्वजनिक बसमै आउँछु भनेँ ।’
उनको गाडी खोसिनुको कारण थियो, गृहमन्त्री रवि लामिछानेको विरोध । त्यस बेला लामिछाने सहकारी प्रकरणमा मुछिएका थिए । गत चैत ६ गतेको संसद् बैठकमा केसीले सहकारी प्रकरणलाई लिएर सरकार विरुद्ध बोले । उनले ॅसहकारी ठग गृहमन्त्री’समेत भनेका थिए । भोलि पल्ट उनको घरमा गाडी बसेन ।
‘अघिल्लै दिन ड्राइभरलाई थाहा रहेछ तर मलाई भनेन घर पुर्याइदिए’ केसी भन्छन्– ‘उनलाई प्रधानमन्त्री (प्रचण्ड) ले नै दबाब दिएछन् क्यारे ।’
हो, केसी आफ्ना कुरा लुकाउन सक्दैनन् । उनी चित्त नबुझेका कुरा भन्दिहाल्छन् । उनले तत्कालीन गृहमन्त्री लामिछानेका विषयमा चर्कै भाषण गरेका थिए । त्यही कारण उनको गाडी खोसियो । केसीलाई गाडी खोसिएकोमा चिन्ता छैन ।
‘जनताको करबाट आएको गाडी हो । प्रचण्डले आफ्नै ठाने’ केसी भन्छन्– ‘मैले मेरै लाइफ ठिक छ भनेँ अनि पुरानै ढाँचामा फर्किएँ ।’ हुन त उनलाई आफ्नै पार्टीले पनि गाडी लिन भनेको थियो ।
उत्तरार्धमा एक्लो बास
केसीले १४ वर्षको उमेरमा विवाह नौ वर्षीया पार्वती पौडेलसँग विवाह गरेका थिए । वयोवृद्ध केसी अहिले काठमाडौँमा एक्लै छन् । उनकी पत्नी पार्वती केसी ‘अल्जाइमर’ का कारण छोरासँग छिन् ।
केसी दम्पतीका दुई भाइ छोरा र एक छोरी हुन् । एक छोरा जापानमा बस्छन् । कान्छा छोराबुहारी १५ वर्ष जापान बसेर घर फर्किए पनि केसीसँग छैनन् । पत्नी बिरामी परेपछि छोरा जापानबाट फर्किएका छन् ।
‘जहानको सुद्धि हराएपछि छोराले लगे’ केसी भन्छन् । केही समयअघिसम्म केसी पत्नीसँगै थिए । पार्वती बिरामी परेपछि केसीले पनि राख्न सकेनन् । ‘छोराहरूले उतै लगे । कडा बिमार लागेपछि मैले मात्र राख्न सकिनँ’ उनी भन्छन् ।
केसी पार्टी कार्यालयकै एउटा कोठामा बस्छन् । खाना बनाउने एक जना स्टाफ छन् । ‘बुढो भएपछि हातखुट्टा दुख्न थाले । सक्न छाडेपछि अरूले सहयोग गर्छन्’ उनी भन्छन् ।
यसअघि पत्नीसँगै बस्दा केसीले घरभित्रको काममा हात हाल्नु पर्दैनथ्यो । पतनीले सबै काम गर्थिन् । पत्नीलाई रोगले चापेपछि जीवन सकस बन्यो ।
केसी सम्झन्छन्– ‘संसद् भवन जानुपर्ने भएकाले सँगै राख्न सकिनँ ।’ एक मनले त केसीले राजनीति छाडेर पत्नीकै स्याहारमा लाग्ने सोचेका थिए । सांसद बनेपछि राजनीति छाडिहाल्न नमिलेको उनी बताउँछन् । ‘सांसद भएपछि लाग्नैपर्यो । घरपरिवारभन्दा यता बढी लाग्नुपर्ने भएको छ’ उनी भन्छन् ।
रोगी शरीर, रवाफिलो भाषण
जीवनको उत्तरार्धमा रहेका केसीको शरीर रोगी छ । उनी आफूलाई रोग नलागेको दाबी गर्न छाड्दैनन् । ‘अलि अलि औषधी खायो, हिँडडुल गर्यो’ केसी भन्छन्– ‘चट् भइहाल्छ नि । फुर्तिलै छु ।’ उनको पाचनशक्ति कमजोर छ भने प्रेसर बढ्ने समस्या छ । उनी नियमित औषधी खान्छन् । उनी पूर्णतः शाकाहारी बनेका छन् ।
‘पहिले माछामासु पनि खान्थेँ । रोग बढेपछि सबै छाडेँ’ ठट्यौली शैलीमा केसी भन्छन्– ॅमाछामासुको साह्रै अम्मली थिएँ । शरीरले धान्न छाडेपछि सागभात खाइराखेको छु ।’
केसी वर्षौंदेखि पार्टीको काममा छन् । ‘पार्टीको काम त नियमित गर्नैपर्यो’ उनी भन्छन् । केसी भाषणका लागि पार्टीका नेतासँग परामर्श गर्छन् । ‘हामी पार्टीमा एक्लै बोल्ने होइन । पार्टीकै नीतिअनुसार बोल्ने हो’ उनी भन्छन् ।
केसी २०५५ यता चारपटक प्रतिनिधिसभा सदस्य बने । बागलुङ उनको गृहजिल्ला हो । २०७९ को आमनिर्वाचनमा उनी बागलुङबाट चुनिएका हुन् । चुनाव जित्नुको पछाडि उनीसँग तत्कालीन पाँचदलीय गठबन्धन थियो ।
यसका साथै केसी यथार्थ कुरा व्यक्त गर्छन् । गत बुधबार उनले प्रचण्डलाई बालकोट र बुढानीलकण्ठ धाउन जनयुद्ध लड्नुभएको थियो भनेर आलोचना गरेका थिए । केसीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको छलफलमा बोल्दै जनयुद्धले परिवर्तन नभएको बताए ।
केसी माओवादी “जनयुद्ध” को कडा शब्दमा आलोचना गर्छन् । “जनयुद्ध” भन्दा पनि कडा गरी केसी सङ्घीयताको विरोध गर्छन् । ‘म सङ्घीयताको विरोध गर्छु । यसले हामीलाई फलिफाप गर्दै गर्दैन’, केसी भन्छन्– ‘यो अरू कसैले भिराइदिएको भारी हो । हामीले बोक्नुपरेको छ ।’
केसी भाषणमा उखान राख्न पोख्त छन् । सङ्घीयता देशका लागि ‘भालुको कञ्चट’ भएको केसीको बुझाइ छ ।
सङ्घीयता अहिले ‘खाऊँ भने दिनभरिको सिकार, नखाऊँ भने कान्छा बाउको अनुहार’ भएको केसीको ठहर छ । ‘सङ्घीयता बहकाउमा ल्याइएको र थाम्नै नसकिने भइसक्यो’ केसीको निष्कर्ष छ– ‘अब यसबाट देश चल्दै चल्दैन ।’
देश बिग्रेकोमा चिन्ता
केसीले नेपालका अधिकांश वामपन्थी नेतासँग सहकार्य गरेका छन् । केसीले माओवादी नेता मोहन वैद्यसँग एउटै पार्टीमा रहेर काम गरेका छन् । पार्टी फुटेपछि मोहन वैद्य र प्रचण्डहरू एकातिर लागेका थिए भने भने केसी मोहनविक्रम सिंहतिर लागेका थिए ।
माओवादी नेता देव गुरुङ, देवेन्द्र पौडेल, बाबुराम भट्टराई, हरिबोल गजुरेल, नवराज सुवेदी, डिलाराम आचार्य कुनै बेलाका केसीका कार्यकर्ता थिए ।
चित्रबहादुर केसी पूर्वशिक्षक हुन् । उनी बागलुङको एउटा विद्यालयमा प्रधानाध्यापक हुँदा अहिलेका एकीकृत समाजवादीका सम्मानिति नेता झलनाथ खनाल सोही स्कुलमा विज्ञान शिक्षक थिए ।
२०१२ सालमा राजनीतिमा लागेका केसीले २०१४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिए । केसीले लामो समय भूमिगत र बन्दी जीवन बिताएका छन् । ‘कुनै बेला यस्तो समस्या थियो, घर आयो भने जहान डराउँथिन्’ केसी भन्छन्– ‘धेरै वर्ष भूमिगत जीवन बिताइयो । जेल पनि बसियो ।’
पछिल्लो समय उनलाई देश बिग्रिएकोमा चिन्ता छ । देशमा बाहिरी शक्तिको चलखेल बढेको र राजनीति सत्ताप्राप्तिमै केन्द्रित भएको उनी बताउँछन् ।
केसी यस्ता राजनीतिक विकृति विरुद्ध औँला उठाइरहेका छन् । ‘म राजनीतिबाट थाकेको छैन । निरन्तर लाग्ने हो’ केसी भन्छन्– ‘परिवर्तन नभएसम्म हामीले आन्दोलन गर्नैपर्छ ।’
दुर्घटनामा परेका केसी
२०७३ मङ्सिर ८ गतेको कुरा । केसी घट्टेकुलो (डेरा) बाट निस्किएर मैतीदेवी पुगे । त्यहाँबाट निलो माइक्रो चढेर चाबहिलतर्फ जाँदै थिए । गौशालाबाट चाबहिल जानुपर्ने माइक्रो ट्राफिक नियम उल्लङ्घन गर्दागर्दै ट्राफिक प्रहरीलाई देखेर रातोपुलतिर मोडियो । केसी ठुलो स्वरमा बोले, ‘म त चाबहिल जाने हो । तिमीले त रातोपुलतिर गाडी झार्यौ त ।’
माइक्रोचालकले सान्त्वना दिए– ‘हैन बुबा, तपाईंलाई चाबहिल लगिदिए त भयो । यहाँ ट्राफिकले गडबड गर्ला जस्तो लाग्यो र म यता तल झरेर फर्काउँछु ।’ बिचबाटोबाट माइक्रो फनक्क घुम्न खोज्दै थियो, केसी सडकमा खसे । उनी बेहोस भए ।
‘होस आउँदा गौशाला प्रहरीमा थिएँ’ केसीले त्यो घटना सुनाए– ‘मलाई त कुर्सीमा राखेका, वरिपरि पुलिसले घेरेका, स्थानीय र सबैले मलाई मात्रै हेरिरहेका । पञ्चायतकालमा प्रहरीको बिचमा त्यस्तै घेरिएर बसाल्थे ।’ इन्स्पेक्टरले केसीलाई घटनाबारे बताए । उनलाई त्यहाँबाट प्रहरीले नै सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुर्यायो । उनको ढाडमा चोट लागेको रहेछ ।
उपचार सुरु भयो । उपचार भइरहँदा त्यतिबेला गृहमन्त्री विमलेन्द्र निधि पनि अस्पताल पुगे । त्यसपछि घटना चर्चामा आयो । उनका नेता, कार्यकर्ता र समर्थकले अस्पताल भरियो । चिकित्सकले उनलाई ॅ१५ दिन अस्पतालमा बस्नुपर्छ’ भनेका थिए । उनले मानेनन् ।
‘डाक्टरले मलाई १५ दिन अस्पतालमा बस्नुपर्छ भनेका थिए, मैले मानिनँ । मलाई त्यस्तो खास्सै केही भएको छैन जस्तो लाग्यो । फेरि मेरा मान्छे पनि अस्पतालमा धेरै आउजाउ गर्न थाले । त्यही भएर मैले त घर जान्छु भनेँ’ केसीले सुनाए । दुर्घटना भएको अर्को दिन केसीलाई अस्पतालले घर पठाएको थियो ।
(हिमालप्रेस डट कममा २०८१ साउन ३२ गते शुक्रबार प्रकाशित प्रस्तुत सामग्रीको शीर्षक हामीले परिवर्तन गरेका छौँ : सम्पादक ।) युगदर्शन बाट साभार।