राजमो देशव्यापी रूपमा एक्लै चुनाव लड्छ, चित्र बहादुर केसीसँग :विशेष अन्तरवार्ता

 

नेपालको वैकल्पिक वाम लोकतान्त्रिक राजनीतिमा सैद्धान्तिक स्पष्टता र व्यवहारिक दृढताका साथ अगाडि बढ्दै आएको राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनमा देशव्यापी रूपमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ। अवसरवादी गठबन्धनको राजनीतिप्रति असहमति जनाउँदै आएको यो पार्टीले विचार, सिद्धान्त र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर राजनीति गरिरहेको छ।

यही सन्दर्भमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नेपाली कम्युनिस्ट आन्दोलनका अनुभवी नेता चित्र बहादुर केसीसँग बिस्व नेपाली डटकमका कार्यकारी सम्पादक शंकर प्रसाद पोख्रेलले वर्तमान राजनीतिक अवस्था, पार्टीको सैद्धान्तिक धार, व्यवहारिक चुनौती र उहाँको निजी–पारिवारिक जीवनका संवेदनशील पक्षबारे गहन कुराकानी गर्नुभएको छ।

अध्यक्षज्यू, राष्ट्रिय जनमोर्चा आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने निर्णयमा कसरी पुग्नुभयो ?

हामीले सुरुदेखि नै विचार, सिद्धान्त र व्यवहारलाई अलग–अलग गरेर राजनीति गरेका छैनौँ। आज देखिएको गठबन्धनको राजनीति सैद्धान्तिक भन्दा पनि सत्तामुखी, अवसरवादी र स्वार्थकेन्द्रित बनेको छ। यस्तो राजनीतिले जनताको समस्याभन्दा पद, शक्ति र भागबण्डालाई प्राथमिकता दिएको छ।

राष्ट्रिय जनमोर्चा कुनै पनि अवस्थामा जनताको पक्ष छोडेर सत्ताको खेलमा सामेल हुन सक्दैन। त्यसैले पार्टीले देशव्यापी रूपमा आफ्नै शक्ति र आफ्नै एजेन्डाका साथ एक्लै चुनाव लड्ने स्पष्ट निर्णय गरेको हो। हाम्रो भरोसा सत्तामा होइन, जनतामा छ।

आजको संसदीय अभ्यास र समग्र राजनीतिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

संसद जनताको आवाज बोल्ने सर्वोच्च थलो हुनुपर्ने हो। तर आज संसद व्यक्तिगत स्वार्थ, शक्ति सन्तुलन र दलाल पूँजीको प्रभावमा पर्दै गएको छ। भ्रष्टाचार संस्थागत हुँदैछ, विदेशी हस्तक्षेप मौन रूपमा स्वीकारिँदैछ।

यस्तो अवस्थामा राष्ट्रिय जनमोर्चा संसदभित्र र बाहिर दुवै ठाउँबाट भ्रष्टाचार, दलाली र राष्ट्रिय स्वाधीनताविरोधी प्रवृत्तिविरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ। हामी व्यवहारमा पनि र विचारमा पनि सम्झौताविहीन राजनीति गर्न चाहन्छौँ।

पार्टीको सैद्धान्तिक आधार र व्यवहारिक अभ्यासबीच सन्तुलन कसरी कायम गर्नुभएको छ ?

सिद्धान्त केवल भाषणमा सीमित हुनु हुँदैन, व्यवहारमा देखिनुपर्छ। हामीले पार्टीको नीति, संगठन, उम्मेदवार चयनदेखि संसदीय भूमिकासम्म सैद्धान्तिक अनुशासनलाई व्यवहारमा लागू गर्ने प्रयास गरेका छौँ।

त्यसैले हाम्रो पार्टी सानो देखिए पनि विचारमा स्पष्ट छ। संख्या होइन, दिशा सही हुनु नै राजनीति सफल हुनु हो भन्ने मान्यता हामीले बोकेका छौँ।

अध्यक्षज्यू, तपाईंको निजी जीवन अहिले केही कठिन अवस्थामा रहेको सुनिन्छ। यसबारे केही भन्नुहुन्छ ?

हो, यो लुकाउने विषय होइन। मेरी श्रीमती अहिले ८० वर्षको हुनुहुन्छ, म स्वयं ८६ वर्षको भएँ। मैले उहाँलाई नौ वर्षको उमेरमै विवाह गरेको स्मृति अझै ताजा छ। जीवनको अधिकांश समय राजनीतिक संघर्षमै बित्यो।

मेरी श्रीमतीलाई २३ वर्षदेखि मधुमेह (सुगर) रोग छ। पछिल्ला तीन वर्षदेखि अल्जाइमर रोगले समेत ग्रसित भएपछि उहाँको अवस्था अझ संवेदनशील बनेको छ। अहिले निरन्तर औषधि उपचार र हेरचाह आवश्यक छ।

यसले  तपाईंको दैनिकी र राजनीतिक सक्रियतामा कस्तो प्रभाव पारेको छ ?

व्यवहारिक समस्या त स्वाभाविक रूपमा आउँछ। अहिले मलाई घर–जहानको हेरचाहमा प्रत्यक्ष रूपमा संलग्न हुनुपर्ने अवस्था छ। जीवनको यो चरणमा परिवारप्रतिको दायित्वबाट पन्छिन सकिँदैन।

तर यसले मेरो विचार, राजनीतिक चेतना र प्रतिबद्धता कमजोर बनाएको छैन। म सक्रियताको शैली परिवर्तन भएको मात्र हो भन्न चाहन्छु। राजनीति पदमा बस्दा मात्र होइन, विचारमा बाँचे पनि गरिन्छ।

 

यस्तो अवस्थामा पार्टीको कार्यकारी जिम्मेवारी कसरी व्यवस्थापन हुँदैछ ?

राष्ट्रिय जनमोर्चा सामूहिक नेतृत्वमा विश्वास गर्ने पार्टी हो। यही मान्यताअनुसार मैले कार्यकारी जिम्मेवारीको महत्वपूर्ण पक्ष रेस्मिराज नेपालीज्यूलाई हस्तान्तरण गरेको विषय सार्वजनिक भइसकेको छ।

उहाँ सक्षम, इमानदार र पार्टीको सैद्धान्तिक लाइनप्रति स्पष्ट हुनुहुन्छ। कार्यकारी  हस्तान्तरण कमजोरी होइन, बरु संगठनको निरन्तरता र मजबुतीको संकेत हो।

अन्त्यमा, जनताका लागि तपाईंको सन्देश के छ ?

राजनीति पद, सुविधा वा व्यक्तिका लागि होइन—परिवर्तन, न्याय र राष्ट्रिय स्वाधीनताका लागि हुनुपर्छ। राष्ट्रिय जनमोर्चा जनताको दुःख–सुखसँग जोडिएको पार्टी हो।

म जनतालाई आग्रह गर्न चाहन्छु।विचार, इमान र राष्ट्रहित हेरेर निर्णय गर्नुहोस्। देश बचाउने जिम्मेवारी अन्ततः जनताकै काँधमा हुन्छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation