
काठमाडौँ । सन् २०२५ को हालसम्म नेपालमा जापानिज इन्सेफलाइटिस्बाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार अहिलेसम्म ६३ जनामा यस रोगको सङ्क्रमण देखिएको छ ।
उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीमा एक÷एक जना तथा चितवनमा तीन जनाको मृत्यु भएको हो । मृतकमध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षमाथिका नौ जना रहेका छन् ।
डा. गौतमका अनुसार घरमै रहेका ३० प्रतिशत र अस्पताल जाँदै गर्दा २७ प्रतिशत बिरामीको मृत्यु भएको छ । सन् २०२४ मा यसै रोगका कारण २५ जनाको मृत्यु भएको थियो भने ८६ जनामा सङ्क्रमण देखिएको थियो ।
उनले खोप नलगाएकामा बढी सङ्क्रमण देखिएको जानकारी दिँदै भने, “हालसम्म २४ जिल्लाका ५० स्थानीय तहमा यो रोग देखिएको छ र तीमध्ये २४ वटा स्थानीय तहलाई उच्च जोखिम क्षेत्रका रूपमा लिइएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिक महिनासम्म बढी देखिन्छ ।” नेपालमा हालसम्म ८२ प्रतिशत बालबालिकालाई यसविरुद्धको खोप लगाइएको छ ।
कसरी सर्दछ ?
चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस् क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग हो । यो लामखुट्टे साँझपख र झिसमिसे बिहान सक्रिय हुने गर्छ । धानबाली, दलदल र पानी जम्ने स्थान यसको प्रजननका लागि उपयुक्त भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुन्छ ।
गम्भीर अवस्थामा पुगेमा बिरामीको मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा मृत्यु हुने खतरा रहन्छ । यस रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ तर प्रायः १५ वर्षमुनिका बालबालिकामा बढी देखिन्छ ।
यो रोग सङ्क्रमित हाँस, कुखुरा र सुँगुरलाई टोकेका लामखुट्टेले मानिसलाई टोकेमा सर्ने हो तर मानिसबाट मानिसमा भने सर्दैन ।
-रासस