बिमल पोख्रेल
देशभर सहकारी लुटपाट भएपछि एउटा सहकारी कसरी सफल हुन सक्छ भनेर अनुभव बाँड्दैछु । म अखिल (छैठौं) राप्ती-लुम्बिनी इन्चार्ज भएर २०६७ मा काठमाडौंबाट बुटवल गएको थिएँ । कार्यालय भाडा तिर्ने पैसा पनि थिएन । अघिल्लो इन्चार्जले हिसाब-किताबको नामनिशान केही बुझाएका थिएनन् । मैले एक-दुई जना साथीसँग ५ हजार सापटी मागें । पार्टीका मान्छेले पैसा लगेपछि नतिर्ने रोगको कारण पैसा दिन मानेनन् । मलाई झोंक चल्यो, अनि एउटै घरमा बस्ने साथी राजु पौडेललाई भनें- राजु, एउटा सहकारी खोलौं, सुखदुःखमा काम लाग्छ, पैसा भएका केही मान्छेले साह्रै हेपे । राजुले मैले सहयोग गर्छु र हिसाबकिताब पनि हेरिदिन्छु भने ।
अनि मैले अखिल (छैठौं) रुपन्देहीको बैठक राखेर गोरेटो नामको सहकारी खोल्ने निर्णय गराएँ । सहकारीका सबै सिद्धान्त हुबहु पालना गर्ने, सहकारी जुनसुकै हालतमा चलाउने भन्ने भयो । वि.सं. २०६८ बाट सुरु गरिएको सहकारीमा सुरुमा ५६ सदस्य बनाउन सकियो । एक नम्बरको सदस्य राजु पौडेल र दुई नम्बरको सदस्य लक्ष्मी गुरुङ (निधन) बनाइयो । म चाहिं १४ नम्बरको सदस्य हुँ । अहिले झण्डै ३ हजार शेयर सदस्य छन् । तिलोत्तमा र सैनामैनामा सेवा कार्यालय छन् । कार्यक्षेत्र लुम्बिनी प्रदेशभर छ ।
पार्टीका केही जिम्मेवार व्यक्तिले सुरुमा केटाहरूको उट्पट्याङ धेरै चल्दैन भनेर सहयोग गरेनन् । केही साथीहरूले दह्रो साथ दिए । म आफै सदस्य बनाउन र बचत जम्मा गर्न हिडें । सुरुमा दीपक पौडेल र बाबुराम आचार्यलाई अध्यक्ष बनाइयो । सहकारी सोचेको जस्तो राम्रोसँग चल्न सकेन । एक दिन पदम श्रेष्ठले मलाई आफ्नो पसलमा बोलाउनुभयो र पारी बुटवलको एउटा होटलमा खाजा खाने बहानामा लगेर भन्नुभयो कि, पार्टीले खोलेका सहकारी, पसल सबै डुबेका छन् । यही तरिकाले यो सहकारी पनि डुब्छ, तपाईं अध्यक्ष भएर चलाउने भए हामीले साथ दिन्छौं, नत्र शेयर फिर्ता लिन्छौं, धेरै साथीहरूको धारणा यही छ भनेर चेतावनी दिएपछि म सहकारीको अध्यक्ष भएँ र निकै कडा मेहनत गरेर अगाडि बढें । साथीहरूले पनि दह्रो साथ दिए । दर्ता गर्दा नाम जुधेको हुनाले लालटिन कृषि सहकारी भयो ।
देशका सहकारीले धेरै कर छल्ने र दोहोरो हिसाब राख्ने गर्छन् । मैले साथीहरूलाई सुरुमै भनेको थिएँ कि राज्यलाई एक रुपैयाँ पनि कर छल्नु हुँदैन । विश्वास जित्न सकिन्छ । दोहोरो हिसाब नराखेसम्म सहकारी चलाउन सकिन्न भनेर बैठकमा कुरा उठ्यो । सहकारीको कमाइ सबै कर तिरेर सक्ने हो भने चलाउन सकिन्न भनेर चर्काचर्की पनि भयो । अन्ततः सबै साथीहरू सहमत भएपछि कर कार्यालयका कर्मचारी नै चकित पर्ने गरी लाखौंलाख कर तिरियो । साथीहरूले मलाई यसरी साथ दिए कि मैले भनेका सबै कुरा लागु हुन्थे । साथीहरूका सुझावलाई मैले निकै महत्त्वका साथ लिन्थें र छलफल गरेर लागु गर्थ्यौं । त्यही बीचमा म अखिल छैठौंको अध्यक्ष भएर काठमाडौं लागें । गंगालाल सापकोटालाई अध्यक्ष बनायौं । आजका दिनसम्म गंगालालको नेतृत्वमा नमूना तरिकाले सहकारी चलेको छ । रुपन्देहीको प्रख्यात सहकारी बनेको छ । मेरो योजना यो भन्दा धेरै फराकिलो थियो, साथीहरूले तपाईंले भनेको जस्तो चलाउन सकिन्न पनि भन्छन् । तर अझै धेरै सकिन्छ ।
सुरुमा महिनाको एक दिन बचत उठाउने व्यक्तिलाई ५ सय दिने भनेर खोलिएको सहकारीको दराज किनियो, अफिस खोलियो, कर्मचारी राखियो, कम्प्युटर किनियो । आक्रामक तरिकाले सदस्य बनाउँदै जाँदा ६-७ सय सदस्य भए । कर्मचारी थपियो । सहकारी सुलभ र सस्तो पसल खोल्ने कुरा भयो । विगत ५-६ वर्षदेखि देवीनगरमा गज्जबले सहकारी पसल चलेको छ । यो वर्ष सहकारी पसलले मात्रै ३४ लाख नाफा गरेछ । झण्डै २५ करोडको कारोबार छ । हरेक ३ महिनामा रक्तदान कार्यक्रम हुन्छ । करिब ७०-८० पोइन्ट रगत जम्मा हुन्छ । दुनियाँमा सहकारी लुटको माध्यम बनिरहँदा हामीले चलाएको सहकारी रुपन्देहीको नमूना बनेको छ । सहकारी पसल र सहकारीमा १९ जनालाई रोजगारी दिइएको छ ।
सुरुमा राजु पौडेल, सुनिता केसी, प्रकाश जीसी, कृष्ण जीसी, बाबुराम आचार्य, सुमित्रा सापकोटा, गोविन्द खनाललगायत साथीहरूको धेरै सहयोग रह्यो । पछि जोडिएका धेरै साथीहरूको सहयोग छ । मैले सबै साथीहरूलाई सम्झिएको छु । यो वर्ष पनि साधारणसभामा आउन पाइएन । हामीले खोलेकै कारण लालटिन सहकारी मसालको भनेर चिनिन्छ । व्यवहारमा कोही कसैलाई भेदभाव हुन दिइएको छैन र दिनु पनि हुँदैन । सहकारी मसालको नभएर शेयर सदस्यहरूको सार्वभौम अधिकार भएको संस्था हो । सहकारीका सम्पूर्ण सिद्धान्त पालना गरेर चलाइएको छ । त्यसैले नमूना भएको छ । जय सहकारी !











