
भारत ,माघ ,२६
भारतको दिल्लीमा अन्ततः २७ वर्षपछि भारतीय जनता पार्टीले सत्ता सम्हाल्ने भएको छ। चुनाव आयोगका अनुसार अहिलेसम्मको मतपरिणामअनुसार भाजपाले ५ सिट जित्दा ४३ सिटमा अग्रता बनाइरहेको छ। यसको अर्थ भाजपा बलियो बहुमततर्फ अग्रसर भएको छ।
आम आदमी पार्टीले ६ सिटमा जित निकाल्दा १६ सिटमा अग्रतामा रहेको छ। कांग्रेसले दिल्लीमा कुनै पनि सिटमा जित हासिल गर्न सकेको छैन।
अघिल्लो चुनावमा ऐतिहासिक बहुमत प्राप्त गरेको आम आदमी पार्टीका संस्थापक नेता अरविन्द केजरीवाल आफ्नो दिल्लीको सिटसमेत गुमाउन पुगेका छन्।
त्यस्तै, मनिष सिसोदिया जंगपुरा सिटबाट पराजित भएका छन्। अहिले मुख्यमन्त्री रहेकी आतिशी भने चुनाव जित्न सफल भएकी छन्। त्यस्तै, अर्का प्रभावशाली नेता सत्यन्द्र जैन पनि चुनाव हार्न पुगेका छन्।
दिल्लीमा भाजपमा मुख्यालयमा विजयी उत्सव सुरु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले साँझ ७ बजे पार्टी हेडक्वार्टर पुगेर कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। केजरीवाललाई हराएका भाजपाका उम्मेद्वार प्रवेश वर्माले अमित साहसँग भेट गरेका छन्। अब मुख्यमन्त्रीका लागि नरेन्द्र मोदीले कसलाई अघि सार्छन् त्यो भने सबैको चासोको रुपमा रहेको छ।
सन् २०२० मा भाजपाले केवल ८ सिट जितेको थयो। २०२५ मा आइपुग्दा ६ गुणा बढी सिट जित्ने लगभग पक्का भएको छ। अर्थात ४८ सिट जितेर सत्तामा बहुमतसहित फर्किन लागेको छ।
केजरीवालको आम आदमी पार्टीका २० जना उम्मेद्वारको जमानतसमेत नजोगिएको जनाइएको छ। केजरीवाल प्रवेश बर्मासँग ३ हजार भोट अन्तरले पराजित भए।
कांग्रेसले यो पटक पनि एक सिट पनि जितेन तर उसले २ प्रतिशत भोट बढाएको जनाइएको छ। आपलाई यो पटक ३९ सिट घाटा लागेको छ।
मुख्यमन्त्री रहेका अरविन्द केजरीवाल रक्सी घोटालमा मुद्दा खेपिरहँदा त्यसको असर पार्टीमा देखिएको छ। कतिपयले भाजपाले आफ्नो सरकारको शक्ति देखाएर जबर्जस्ती केजरीवाललाई पाखा लगाउन षड्यन्त्र गरेको बताउने गरेका छन ।