
अमेरिका र रुसले युक्रेन युद्धको विषयमा पहिलोपटक प्रत्यक्ष वार्ता शुरू गरेका छन् ।
साउदी अरबको रियादमा शुरू भएको वार्तामा रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभ र अमेरिकी विदेशमन्त्री मार्को रूबियो उपस्थित छन् । यो बैठकमा युक्रेन र युरोपका प्रतिनिधिहरू अनुपस्थित छन् ।
अमेरिकाले यो वार्तालाई युद्ध अन्त्य गर्ने पुटिनको प्रतिबद्धताको गम्भीरता जाँच्ने पहिलो कदमको रूपमा लिएको बताएको छ । रुसले भने आफ्नो उद्देश्य अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउने रहेको जनाएको छ ।
तर, युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेनले आफू संलग्न नभएको वार्ताले गरेको सम्झौतामा हस्ताक्षर नगर्ने अडान लिएका छन् ।
युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा युरोपेली नेताहरू पनि संलग्न हुन चाहन्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो चरणको वार्तामा जेलेन्स्की र युरोपियन देशका नेताहरूलाई संलग्न नगराउने बताएपछि युरोपेली नेताहरूले आकस्मिक बैठक बोलाएका थिए ।
बेलायतका प्रधानमन्त्री कीयर स्टार्मरले आवश्यकता परे युक्रेनमा युरोपेली देशहरूले सेनासमेत पठाउने विषयमा विचार गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।
अमेरिका-रुसबीच अहिले ३ घण्टादेखि वार्ता चलिरहेको बीबीसीले जनाएको छ । अमेरिकी विदेशमन्त्री रूबियोसँगै यात्रा गरिरहेका अमेरिकी विदेश मन्त्रालयका संवाददाता टम बेटम्यानले १५ मिनेटको छोटो ब्रेकपछि दुवै पक्ष पुनः वार्तामा फर्किएको बताएका छन् ।
यसैबीच क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले यूक्रेनको युरोपियन युनियन (ईयू) सदस्यतामा आपत्ति नगर्ने स्पष्ट पारेका छन् ।
ब्रेकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै पेस्कोभले भने, ‘यो कुनै पनि राष्ट्रको सार्वभौम अधिकार हो । हामी आर्थिक तथा समावेशी प्रक्रियाबारे कुरा गर्दैछौं, जहाँ कुनै पनि देशलाई अरूले निर्देशन दिन सक्दैन । रुसले पनि त्यसो गर्ने छैन ।’
तर, उनले सुरक्षा, रक्षा वा सैन्य गठबन्धनका सन्दर्भमा रुसको धारणा पूर्णतः फरक हुने बताए । ‘सैन्य गठबन्धन अर्कै मुद्दा हो, जुन सबैलाई राम्ररी थाहा छ’, उनले थपे ।
यसैबीच, सम्भावित ट्रम्प-पुटिन भेटवार्ताबारे कुनै नयाँ जानकारी नभएको पेस्कोभको भनाइ छ । ‘तर, आजको वार्ताले धेरै कुरा टुंगो लगाउँछ,’ उनले भने ।
पेश्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यकताका आधारमा यूक्रेनी राष्ट्रपति ज़ेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको जनाए ।
‘पुटिन स्वयंले आवश्यक परे ज़ेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको बताएका छन्,’ उनले सञ्चारकर्मीहरुसँग भने, ‘तर, कुनै पनि सम्झौताका कानुनी आधारबारे छलफल आवश्यक हुन्छ । किनकि, ज़ेलेन्स्कीको वैधतामाथि नै प्रश्न उठिरहेको छ ।’
पुटिनले यसअघि पनि बारम्बार ज़ेलेन्स्कीको वैधतामाथि प्रश्न उठाउँदै आएका छन् । गत मे महिनामा जेलेन्स्कीको कार्यकाल सकिएको थियो । त्यसपछि जेलेन्स्कीले चुनाव गराउन सकेका छैनन् ।