इजरायलले गाजा पट्टीमा फेरि हमला शुरू गर्यो

इजरायलले गाजा पट्टीमा फेरि हमला शुरू गरेको छ । इजरायल र हमासबीचको पहिलो चरणको युद्धविराम सकिएको र दोस्रो चरणको वार्ताका लागि कहिले सहमति हुने भन्नेमा दुवै पक्ष शंकाको घेरामा रहेका बेला इजरायलले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जनवरीमा शुरू भएको तीन चरणको युद्धविराम कसरी कायम राख्ने भन्ने विषयमा इजरायल र हमासबीचको असहमतिबीच हिंसा बढ्दै गएको हो ।

सीएनएनका अनुसार इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासविरुद्धको कारबाही फेरि शुरू गर्ने जनाएको छ । इजरायली डिफेन्स फोर्सले ट्वीटरमा लेखेको छ, ‘गाजा स्ट्रिपमा हमास आतंकवादी संगठनसँग सम्बन्धित आतंककारी लक्ष्यहरूमा व्यापक हमला गरिरहेको छ।’

आइडीएफका अनुसार उनीहरूको सेनाले हमासको लक्ष्यमा व्यापक आक्रमण गरेको छ । यी आक्रमणमा धेरैको ज्यान गएको समाचार पनि छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार मध्य गाजाको देइर अल-बालाहमा तीनवटा घर, गाजा शहरको एउटा भवन र खान युनिस र रफाहका लक्ष्यहरूमाथि आक्रमण भएको थियो । गाजा शहरमा पाँच बालबालिकासहित ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको अलजजीराले जनाएको छ । हमलामा २० भन्दा बढी घाइते भएका छन् ।

पछिल्ला दुई हप्ताको वार्तामा अमेरिका समर्थित अरब मध्यस्थकर्ताहरू दुई युद्धरत पक्षहरू बीचको मतभेद समाधान गर्न सफल हुन सकेनन् ।

केही दिनअघि इजरायल युद्धविरामको दोस्रो चरणमा जानुको सट्टा पहिलो चरणको समयावधि बढाउन अडिग रहेको खबर आएको थियो ।

युद्धविरामको दोस्रो चरणमा इजरायल रक्षा बल पूर्ण रूपमा गाजा छोड्नुपर्ने थियो तर, इजरायल यो चाहँदैन । एक उच्चस्तरीय इजरायली स्रोतकाअनुसार हमासले गाजा छोड्नुपर्नेछ, त्यसपछि मात्र इजरायल युद्धविरामको दोस्रो चरणको लागि अगाडि बढ्नेछ।

त्यसैले दोस्रो चरणको युद्धविरामको सट्टा इजरायलले पहिलो चरणको युद्धविरामको समयावधि बढाउन चाहेको सीएनएनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation