
सेबक भट्टराई
नेपालको वर्तमान सामाजिक र आर्थिक अवस्थाको विश्लेषण गर्दा स्पष्ट के देखिन्छ भने देशमा उत्पादनका साधनमाथि पहुँच सीमित वर्गको नियन्त्रणमा केन्द्रित छ । बहुसंख्यक श्रमिक वर्ग शोषणमा परेका छन्। म्याक्सवादी दृष्टिकोणले यो अवस्थालाई अझ गहिरो रूपमा विश्लेषण गर्न मद्दत गर्छ । उत्पादनका साधन, पूँजी प्रवाह र वर्गीय स्थानान्तरणका प्रक्रियाले नेपालमा वर्गीय असमानता झनै चुलिँदै गएको छ ।
मध्यम वर्गको पलायन र उच्च वर्गको वैदेशिक मोह :
आजको नेपाली समाजमा विशेषतः निम्न तथा निम्न मध्यम वर्ग तीव्र गतिमा विदेश पलायन भइरहेको छ। रोजगारी, शिक्षा र भविष्यप्रतिको चिन्ताका कारण यो वर्ग ठूलो संख्यामा देश बाहिर गइरहेको छ । अर्कोतर्फ, नेपालमै रहेका मध्यम वर्गका व्यक्तिहरू आफ्ना सन्तानलाई विदेशमा राख्दै, यहीँको सम्पत्तिलाई वैदेशिक बैंक खातामा वा विदेशी लगानीमा रूपान्तरण गरिरहेका छन्। यसरी देशभित्रको श्रमको मूल्य देशबाहिर ट्रान्सफर भइरहेकाे छ।
सर्वहारा वर्गको अवस्था: श्रम, शोषण र परनिर्भरता
नेपालमा बाँकी रहेको वर्ग प्रायः निम्न वर्ग वा सर्वहारा वर्ग हो। यही वर्ग अहिले पनि देशभित्र मजदूरी गरिरहेका छन्, वा ऋण बोकेर खाडी मुलुक तथा भारतमा श्रम बेच्न बाध्य छन्। उनीहरूको श्रमले केवल आफ्ना परिवारलाई मात्र होइन, देशभित्रका उच्च वर्ग र पूँजीपतिलाई समेत आम्दानीको स्रोत उपलब्ध गराइरहेको छ। विडम्बना त के छ भने, श्रमिक देशबाट बाहिरिन्छ, तर उसको श्रमको मूल्य देशभित्र उच्च वर्गले उपभोग गर्छ।
उद्योगधन्दाको संकट र पूँजीको वैदेशिक प्रवाह
यदि खाडी मुलुक वा भारतबाट नेपाली श्रमिक फर्किए भने नेपालभित्रका अधिकांश उद्योगहरू टिक्न सक्ने छैनन्। उद्योगहरू सस्तो श्रम र वैदेशिक रेमिटेन्समा पूर्ण रूपमा परनिर्भर छन्। यस तथ्यलाई बुझेपछि पूँजीपति वर्गले नेपालमा लगानी घटाउँदै विदेशमा सम्पत्ति सुरक्षित गर्ने अभियान चलाएका छन् । क्रमशः उनीहरू नेपालबाट बाहिरिने तयारीमा छन्, र नेपाल केवल सस्तो श्रमिकहरूको बजारमा रूपान्तरित हुने खतरा बढ्दै गएको छ।
प्राकृतिक स्रोतको दोहन र भावी संकट
नेपालका प्राकृतिक स्रोत, खोला, नदी, वन, खानी, जलाशय, र हिमालहरू, हाल व्यापक रूपमा दोहनमा परेका छन्। उत्पादन र नाफाको नाममा यिनको निरन्तर दुरुपयोग भइरहेको छ। दीर्घकालीन रूपमा यी स्रोतहरू समाप्त हुने अवस्थामा पुगेका छन्। भविष्यमा नेपाल जलवायु परिवर्तन, खडेरी, खाद्य संकट र प्राकृतिक विपत्तिको चक्रमा पर्ने प्रबल सम्भावना छ। उत्पादन योग्य जमिन न्यून हुँदै गएको छ, भने पर्यटक भित्र्याउने आकर्षणहरू हराउँदै गएका छन्,खोला सुकेका छन्, हिमालहरू कालो पत्थरमा रूपान्तरित भइरहेका छन्।
सामूहिक स्वामित्व र उत्पादन प्रणालीमा परिवर्तन
म्याक्सवादी सिद्धान्तले देखाउँछ,उत्पादनका साधनमाथि सर्वहारा वर्गको स्वामित्व नभएसम्म सामाजिक न्याय र समता सम्भव छैन। वर्गीय शोषणको अन्त्यका लागि श्रमिक वर्गले उत्पादन र वितरण प्रणालीमा प्रत्यक्ष नियन्त्रण लिनु आवश्यक छ। अहिलेको व्यक्तिगत पूँजीमा आधारित विकास मोडेल अब निष्प्रभावी भइसकेको छ। यसको विकल्प हो, सामूहिक उत्पादन प्रणाली, जहाँ उत्पादन, वितरण र नीतिनिर्माणमाथि श्रमिक वर्गकै स्वामित्व हुनेछ।
अब नेपालमा गर्नुपर्ने काम
नेपालको वर्गीय संरचना दिनप्रतिदिन असमान हुँदै गएको छ। मध्यम वर्ग देशबाट पलायनमा छ, उच्च वर्गले पूँजी विदेश पुर्याइरहेका छन्, र सर्वहारा वर्ग अझ गहिरो शोषणमा परिरहेका छन्। यदि अबै सचेत भई सामूहिक उत्पादन प्रणाली लागू गरिएन भने, देशको आर्थिक स्वाधीनता, सामाजिक न्याय र प्राकृतिक सन्तुलनको रक्षा असम्भव हुनेछ। अब, सर्वहारा वर्गको एकतामा आधारित समाजवादी मार्ग रोज्ने, र उत्पादनका साधनमाथि जनताको स्वामित्व सुनिश्चित गर्ने। यही बाटोले मात्र वर्गीय मुक्तिको आधार तयार पार्न सक्छ।
(लेखक, (अखिल छैठौं )दाङ जिल्ला अध्यक्ष हुनुहुन्छ )