“दुई हप्तामा युद्धविराम नभए रुसमाथि कठोर कदम : अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी”

 

वासिङ्टन, भदौ ७ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धविराम दुई हप्ताभित्र नभए अमेरिकाले ‘ठूलो निर्णय’ गर्ने चेतावनी दिनुभएको छ । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले रुसमाथि कडा प्रतिबन्ध, उच्च कर वा दुवै लगाउने सम्भावना रहेको बताउनुभयो ।

गत अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर बैठकपछि आएको ट्रम्पको यो बयानले वाशिङ्टन–मस्को सम्बन्धमा थप तनाव ल्याएको विश्लेषकहरूले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफू सातवटा युद्ध रोक्न सफल भएको र तीन वटा सम्भावित युद्धलाई टारेको दाबी गर्दै, रुस–युक्रेन विवाद पनि ‘प्रत्यक्ष वार्ता’ मार्फत टुंगिनुपर्नेमा जोड दिनुभयो । उहाँले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सँगै बस्न आह्वान गर्नुभयो ।

यसअघि अगस्ट १८ मा जेलेन्स्कीले युरोपेली नेताहरूसँग छलफलपछि ह्वाइट हाउस भ्रमण गरी ट्रम्पसँग भेटवार्ता गर्नुभएको थियो । त्यही भेटपछि ट्रम्पले पुटिन–जेलेन्स्की वार्ता सम्भावनाबारे संकेत गर्नुभएको थियो ।

तर, अलास्कामा भएको शिखर सम्मेलनबाट युद्धविराममा सहमति नजुटेको थियो । यसबीच युक्रेनस्थित अमेरिकी कारखानामा भएको रुसी आक्रमणप्रति ट्रम्पले आक्रोश व्यक्त गर्नुभएको छ । उक्त आक्रमणबाट कारखानामा आगलागी भई धेरै कामदार घाइते भएका थिए ।

ट्रम्पको चेतावनीलाई अमेरिकी सञ्चारमाध्यमले “अन्तिम दुई हप्ताको अल्टिमेटम” को रूपमा व्याख्या गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation