– सामना के.सी.
नेपालमा लोकतन्त्र स्थापनाको लक्ष्य जनताको अधिकार, समानता र विकासमा आधारित समाज निर्माण थियो। तर आजको यथार्थ फरक छ। लोकतन्त्रको नाममा देशलाई अगाडि बढाउने आशा बोकेका नागरिक अहिले निराश छन्। कारण एउटै हो ब्याप्त भ्रष्टाचार।
विकासको नाममा लाखौं, करोडौं रुपैयाँ लुटिएका छन्। राहतका नाममा उठाइएका कोषहरू बीचमै हराएका छन्। शिक्षण संस्था, स्वास्थ्य, प्रशासन र सुरक्षाजस्ता क्षेत्रहरू राजनीतिक भागबन्डा र दलालीको खेलमा परेका छन्। यसले मात्र देशको ढुकुटी खाली पारेको छैन, भविष्य बोकेका लाखौं युवाको सपना पनि खोसेको छ।
भ्रष्टाचार: राष्ट्रघातको रोग
भ्रष्टाचार नेपालमा नयाँ कुरा होइन। तर पछिल्लो समय यो सामान्य गल्ती नभई राष्ट्रघात बनेको छ। विद्यालयको शौचालय बनाउन छुट्याइएको रकम ठेकेदार र नेताको खल्तीमा पर्छ, अस्पतालका उपकरण खरिदमा कमिसनको खेल हुन्छ, बेरोजगार युवाका नाममा ऋण योजना ल्याइन्छ तर दलालीमा हराउँछ। बाढीपीडितलाई दिने राहत बीच बाटोमै गायब हुन्छ। सडक निर्माण, पुल निर्माण, विद्यालय भवन, हरेक क्षेत्रमा यही कथा दोहोरिन्छ।
यसरी लुटिएको सम्पत्ति राष्ट्रलाई कमजोर पार्ने मात्रै होइन, जनताको विश्वास पनि भत्काइरहेको छ। कर तिर्ने नागरिकलाई राज्यकै कर्मचारी, नेता र दलालले लुट्ने अवस्था आएको छ भने त्यो राज्यप्रति आस्था कहाँ रहने?
युवाको आक्रोश : पोखियो सडकमा
भदौ २३ गते ‘जेन-जी’ अर्थात् नयाँ पुस्ताका युवाहरूले शान्तिपूर्ण आन्दोलन सुरु गरे। उनीहरूको माग सरल थियो भ्रष्टाचारको अन्त्य। तर त्यो आन्दोलन हिंसात्मक बन्यो वा बनाइयो। अधिकार र असन्तुष्टिको प्ले-कार्ड हातमा र आक्रोशको ज्वाला मुखमा लिएर सडकमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले अन्धाधुन्द गोली प्रहार गर्यो, जसको परिणामस्वरूप डेढ दर्जन बढी कलिला युवाहरुले ज्यान गुमाए, सयौ घाइते भए।
“विद्यार्थी स्कुल ड्रेसमै थिए, त्यसमाथि गोली हान्न मिल्छ?” आन्दोलनमा सहभागी युवाहरूको आक्रोशित प्रश्न हो। उनीहरूको भनाइमा प्रहरी राजनीतिक आदेशको पालना गर्दै युवामाथि दमन गर्यो। यही कारण आन्दोलन अझै तीव्र बन्यो।
Gen Z ले भनेको छः यसरी सडकमा आउनु रहर होइन, बाध्यता हो।” उनीहरूका अनुसार राम्रो शिक्षा, रोजगारी र भविष्य खोज्दै गर्दा विदेशिनुपर्ने बाध्यता भ्रष्टाचारकै परिणाम हो। देशमा नै अवसर पाउनुपर्ने युवाले किन विदेश पस्नु परिरहेको छ? यसको जवाफ माग्दै उनीहरू सडकमा उत्रिएका छन्।
नेतामाथि चर्को प्रश्न
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै Gen Z लाई “ठग गरी खाने भाँडो” भने। यस्तो वक्तव्यले आन्दोलनकारीलाई थप आक्रोशित बनाएको छ। नेताहरूले युवालाई अपराधी ठान्ने कि उनीहरूको माग सुन्ने? यही प्रश्न अहिले जनतामाझ उठिरहेको छ। युवाहरूको भनाइमा, नेताहरू भ्रष्टाचारको मूलमा छन्। विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न पनि राजनीतिक भागबन्डा हुन्छ। स्वास्थ्यमा सामान्य औषधि खरिददेखि अस्पताल सञ्चालनसम्म दलको नियन्त्रण हुन्छ। प्रहरी प्रशासनसम्म भ्रष्टाचारको दलदलमा फसेको देखिन्छ।
जनताको आवाज बन्यो जेन-जी
आन्दोलनले धेरै जनतालाई आफ्नो पीडाको प्रतिनिधित्व गरेजस्तो अनुभव गराएको छ। “हामीले तिरेको कर नेताको मौजमा खर्च हुन्छ भने हामीले किन राज्यलाई कर तिर्ने?” नागरिकको प्रश्न छ। भ्रष्टाचारका कारण विद्यार्थीले गुणस्तरीय शिक्षा पाउँदैनन्। बिरामीले अस्पतालमा उपचार गर्न पाउँदैनन्। पीडितले राहत पाउँदैनन्। र बेरोजगारले रोजगारी पाउँदैनन्। यस्तो अवस्थामा युवाले उठ्नु स्वाभाविक हो।
आवश्यकताः दृढ अडान र कठोर नीति
भ्रष्टाचारलाई सामान्य व्यवहारको रूपमा स्वीकार गर्ने दिन सकिएका छैनन्। अब अपराधीलाई माफी होइन, सजाय दिनुपर्छ। घुस खाने अधिकारी अपराधी हुन्। देशको ढुकुटी लुट्ने नेता डकैत हुन्। जनताको अधिकार खोस्ने कर्मचारी जनता विरोधी हुन्।
यसका लागि कठोर कानुनी कार्यान्वयन अपरिहार्य छ। सम्पत्ति जफत गर्नुपर्छ, जेल सजाय दिनुपर्छ। इमानदार कर्मचारीलाई सुरक्षा र सम्मान गर्नुपर्छ। पारदर्शी नेताहरूलाई समर्थन गर्नुपर्छ। अनि कुकर्मीलाई दण्ड दिनुपर्छ।
आन्दोलनको गहिरो सन्देश
Gen Z को आन्दोलन केवल तत्कालीन आक्रोश होइन। यो दीर्घकालीन परिवर्तनको माग हो। सडकमा, संसदमा र सामाजिक सञ्जालमा फैलिएको आवाजले एउटा कुरा स्पष्ट पारेको छ “Enough is Enough”।
भ्रष्टाचार अब सहन सकिँदैन। जनताको धैर्यको सीमा नाघिसकेको छ। अब सामान्य कामचलाउ उपायले समस्या समाधान हुने छैन। आवश्यकता छः क्रान्तिकारी सोचको, दृढ अडानको र कठोर कार्यान्वयनको।
भविष्यको बाटो
देशलाई शुद्ध र इमानदार बनाउन युवाले माग गरेका कुराहरू व्यावहारिक छन्। पारदर्शिता, जवाफदेहिता र इमानदारीलाई संस्थागत गर्न सकिए मात्र देश अगाडि बढ्छ। भ्रष्टाचारविरुद्धको लडाइँ केवल नारामा सीमित भएन। यसलाई कानुनको कठोर कार्यान्वयन र सामाजिक-नैतिक दबाब दुवैसँग लड्नुपर्छ। अन्यथा, जति सरकार फेरिए पनि भ्रष्टाचारको रोग झन् गहिरो हुँदै जान्छ।
निष्कर्ष : मौन अब सम्भव छैन
Gen Z को बलिदानले सम्पूर्ण राष्ट्रलाई एउटा प्रश्न सोधेको छः देश विकासका लागि अझ कति जनले ज्यान गुमाउनुपर्ने हो? जनताको आवाज स्पष्ट छः मौन बस्ने समय सकिएको छ। भ्रष्टाचारविरुद्धको लडाइँलाई अब हरेक नागरिकले आफ्नो कर्तव्य ठान्नुपर्छ। उठ्नुपर्छ, बोल्नुपर्छ, र कार्य गर्नुपर्छ। यदि अब पनि परिवर्तन सम्भव भएन भने, देश अझ अन्धकारतिर धकेलिनेछ। तर यदि युवाको आक्रोशलाई सही दिशामा लगियो भने, यही आन्दोलन भविष्यको उज्यालो आशाको सुरुवात बन्न सक्छ।











