अवसरहरुकाे असमान वितरणले निम्त्याएकाे संकट

रामराज पोख्रेल 

जेन-जी मेरो सन्तानको पुस्ता हो । मेरा लागि सन्तानभन्दा ठूलो कोही छैन । म वर्षौंदेखि आवाज उठाउँदै आएको छु—मेरा सन्तानहरूले बाध्यतावश देश छोड्न नपरोस् । रहरले जानेहरूप्रति मलाई कुनै गुनासो छैन । तर, मुलुकभित्र पर्याप्त अवसर नपाएर जबर्जस्ती विदेशिनुपर्ने बाध्यता मेरा लागि चिन्ताको विषय हो ।

जेन-जीले भदौ २३ (सेप्टेम्बर ८) मा गरेको आन्दोलन उनीहरूको भविष्यको सरोकारसँग जोडिएको थियो, र यसमा मेरो पूर्ण समर्थन थियो । त्यो शान्तिपूर्ण आन्दोलन अचानक एक प्रकारको युद्धको रूप लिनु अत्यन्त दुर्भाग्यपूर्ण हो ।

यस स्थितिको सिर्जना आन्दोलनमा घुसेका राजनीतिक स्वार्थपूर्ति गर्ने तत्व र सत्ताको उन्मादले गर्दा भएको हो । सरकारको सामाजिक सञ्जाल नियन्त्रण र निगमनको प्रयास सत्ताको अहंकारको स्पष्ट संकेत थियो । नेपालको संविधानले वाक स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । यस्तो मुलुकमा सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने निर्णय लोकतान्त्रिक मूल्यविपरीत हो । दुर्भाग्यवश, त्यो निर्णय एक साता पनि टिक्न सकेन, तर त्यसले मुलुकलाई ठूलो मानवीय क्षति बेहोर्न बाध्य बनायो।

जेन-जीले उठाएका इश्युहरू धेरै थिए, तर तीमध्ये सबैभन्दा गम्भीर मुद्दाहरू थिए—भ्रष्टाचार, असमानता, र बेतिथी । यी विषय मेरा सन्तानका लागि अत्यन्तै महत्त्वपूर्ण छन् ।

देशमा तीन तहको सरकार रहे पनि जनताका सरोकारभन्दा राजनीतिक दल र नेताहरूको स्वार्थलाई प्राथमिकता दिइन्छ भन्ने बुझाइ आम जनतामा छ । यसका पुष्टिका लागि पर्याप्त उदाहरणहरू छन्—जहाँ नेताहरूका परिवार र नजिकका मान्छेहरूका लागि अवसरहरू प्याकेजमा उपलब्ध छन्, तर आम नागरिकका सन्तान भने ५० डिग्री तापक्रममा खाडी मुलुकमा रगत–पसिना बगाएर मुलुकको राजस्व धानेर बसेका छन् ।

यस्ता अवसरहरूको असमान वितरण र राजनीतिक संरक्षणको विरुद्धमा जनताको आक्रोश स्वाभाविक हो । त्यो आक्रोशले भदौ २३ मा स्वरूप पायो ।

शान्तिपूर्ण भनिएको आन्दोलनलाई अशान्त, अराजक र युद्धभूमि बनाउने जुनसुकै कारणहरू भए पनि, त्यो दुर्भाग्यपूर्ण हो । अब जेन-जी पुस्तालाई चिडाएर होइन, उनीहरूलाई सम्हालेर, विश्वासमा लिएर, संवादमार्फत अघि बढ्नुको विकल्प छैन ।

✍ लेखक रामराज पोख्रेल  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation