संविधान छ; संविधान छैन । – भाग(१)

 

✍️ लिला बहादुर के सी

२०८२ साल भाद्र २३ गते जेन्जी पुस्ताले काठमाण्डूको माइतिघर मण्डलाबाट नेपालमा भ्रष्टाचार विरुद्ध शान्तिपूर्ण आन्दोलन सुरु गर्यो। यो आन्दोलनबारे दुई तीन दिन अघिदेखि सामाजिक सञ्जालमा केही पोस्टरहरु यसका प्रयोगकर्ताले देखेका थिए। संविधानको जगमा टेकेर बनेको निरंकुश ओली नेतृत्वको दुई तिहाईको सरकारले सर्वोच्च अदालतको सामाजिक सञ्जालसँग सम्बन्धित २६ वटा एप्लिकेशनलाई बन्द गरेको कारणले प्रविधिमा अभ्यस्त युवा पिँढीलाई आन्दोलन गर्न थप उत्प्रेरित गर्यो। माइतिघर मण्डलाबाट सुरु भएको हजारौं हजारको शान्तिपूर्ण जुलुस संसद भवनको गेटमा पुग्दासम्म ओली सरकारले स्कूले बच्चाहरु माथि गोली चलाई बरबर दमन गर्दा उक्त दिन नै १९ जना होनहार युवकहरुले सहादत प्राप्त गरे भने हजारौं युवाहरु घाइते भई अस्पताल पु-याइए।

अवोध वालवालिकाले आफ्नो देशलाई भ्रष्टाचारमुक्त बनाउन, सुशासन कायम गर्न, रोजगारीको वातावरण सिर्जना गर्न र देशलाई वृद्धाश्रम बन्नबाट रोक्न आन्दोलनमा जाँदा उनीहरु माथि गरिएको बरबर दमन र गोलीकाण्डले सभ्य समाजको शिर निहुर्याइ दियो। बाँचेका युवावर्ग, अभिभावक र त्यो भन्दा अघिल्लो पुस्ताका मानिसहरु भाद्र २४ को आन्दोलनमा ज्यानको प्रवाह नगरी होमिए। घटनाको ६ दिन बित्दा सरकारी स्रोतबाट मृतकको संख्या ५१ पुगिसकेको छ।

 

सङ्कास्पद नेतृत्व र सुरक्षा संयन्त्रको भूमिका

सबैभन्दा पहिले आन्दोलनको नेतृत्व गर्ने पढेलेखेका, सभ्य र शालीनताले भरिपूर्ण संयमित युवा मिराज ढुङ्गाना पत्रकार सामु देखा परेका थिए। भाद्र २३ को आन्दोलनपछि उनी भूमिगतजस्तै गायब छन्। भाद्र २४ गते देशभर आन्दोलनको नाममा वितण्डा मच्चाइयो। २०४६ सालको आन्दोलनपछि बहुदलीय व्यवस्थामा र २०६२/६३ को आन्दोलनपछि लोकतान्त्रिक र गणतान्त्रिक कालमा पटक पटक सरकारमा गई लुट्न पल्केका थुप्रै नेता तथा कार्यकर्ताहरुको घरमा लुटपाट गरी आगो लगाइयो। यस क्रममा कतिपय इमान्दार नेताहरुको घर समेत लुटपाट गरी आगो लगाइयो, कैयन व्यापारिक प्रतिष्ठानहरुमा लुटपाट गरी आगो लगाइयो। सरकारी कार्यालयहरुमा आगो लगाइयो। एशियाकै नमूना सरकारी भवन सिंहदरबारमा आगो लगाइयो। न्यायको मन्दिर अदालतमा आगो लगाइयो। अख्तियार दुरुपयोग निवारण आयोग, महान्यायाधिवक्ताको कार्यालय, नेपाल राष्ट्र बैंक तथा सुरक्षा निकाय (प्रहरी कार्यालय) र आन्तरिक राजस्व कार्यालयहरुमा देशैभर आगो लगाइयो, लुटियो र सम्भव हुने ठाउँमा हातहतियार समेत लुटियो। देशैभरका जेलहरुबाट कैदीलाई भगाइयो। देशैभर राजनैतिक पार्टीका कार्यालयहरु जलाइए। राप्रपा, रास्वपा सम्बन्धित नेता, उनीहरुको अफिस र घरहरु मात्र सुरक्षित रहे। यसरी भाद्र २४ देश राज्यविहिन भयो।

प्रहरीहरु भाद्र २३ को घटनाले न राज्यको हुन सके न जनताको। उनीहरु आत्मसुरक्षा पट्टि लागे। १० वर्षे माओवादी जनयुद्धमा दृढतापूर्वक लडेका सशस्त्र प्रहरी र सेना जेन-जेड भनिएको आन्दोलनकारी (???) को प्रतिकार नगरेको देखियो। अन्ततः देश खरानी भएपछि मात्र सेनाले सुरक्षा दिन थाल्यो। जनताले सुरक्षाको अनुभूति गरे। सेनाले रोक्दा डिल्लिबजार कारागार र अन्य कारागारका कैदीहरु भाग्ने आँट गर्न सकेनन्। के नेपाली सेनाले देशको प्रमुख सचिवालय, न्यायको सर्वोच्च मन्दिर, राष्ट्र बैंक र अख्तियार जस्ता प्रमुख कार्यालयहरु जोगाउन सक्दैनथ्यो ? यो प्रश्नले सेनाको त्यो दिनको भूमिकालाई रहस्यको घेरामा राखेको छ।

 

केपी को हठ र देशको दुर्दशा

भाद्र २३ मा सरकारबाट भएको बच्चाहरुको नरसंहारले राति निद्रा परेन। भाद्र २४ गते घरबाहिर निस्कने कुनै गुन्जायस थिएन। हामी मोफसलका मान्छेहरुले कुन देशी विदेशी टिभी च्यानल वा फेसबुक, इन्स्टाग्राम, युट्युब तथा टिकटकले ताजा खबर दिन्छ वा कुन अनलाइनले के लेख्छ त्यतैतर्फ ध्यान केन्द्रित गरियो। अपरान्ह १२ नबज्दै आन्दोलनले उग्र रूप लिएको दृश्य देखा पर्यो। पत्रकार भगवती पाण्डे बहिनीले आफ्नो फेसबुक स्टाटसमा लेख्नु भयो; “साँझसम्म देश खरानी भएपछि प्रधानमन्त्रीले राजीनामा दिनुको के अर्थ ?”। एकछिन १२ः३० तिर माननीय वासु घिमिरेज्यूले फेसबुकमा लेख्नु भयो; “सम्माननीय प्रधानमन्त्रीज्यू राजीनामा दिनोस्”। १ बजेतिर वरिष्ठ पत्रकार डी आर घिमिरेज्यूले फेसबुकमा लेख्नु भयो; “अब प्रधानमन्त्रीज्यूले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ“। आन्दोलनकारी भैंसेपाटीमा नपुग्दासम्म केपीले राजीनामा दिएनन्।

अघिल्लो दिन २३ गते नै उनले सर्वदलीय बैठक बसाली, देश नवल्झिने गरी, सेनालाई किंकर्तव्यविमूढको अवस्थामा नल्याउने गरी, देश खरानी नहुने गरी संविधान र संवैधानिक व्यवस्था धरापमा नपार्ने गरी राजीनामा दिएको भए आज देशले यो कोष्ठ भोग्नु पर्दैनथ्यो सायद। तर उनका आसेपासे शंकर पोखरेल, सूर्य थापा, महेश बस्नेत र अन्य सल्लाहकारहरुले सायद त्यो बेला पनि केपीकै चाकडी गरी भन्दै थिए होला, “केपी बा, आई लभ यू”। परिणाम व्यवस्था, संविधान, राष्ट्रिय भौतिक–अभौतिक सम्पत्ति सबै ध्वस्त भए। राष्ट्रिय स्वाधीनता, सार्वभौम सत्ता, राष्ट्रको धर्म, संस्कृति, इतिहास र राष्ट्रियता नै धरापमा पर्ने अवस्था सिर्जना भयो। एउटा दार्शनिक भन्छन्; “हजारौं जनता गलत भए केही फरक पर्दैन तर एउटा शासक गलत भए सर्वनाश हुन्छ“। अहिले देशले त्यही अवस्था भोग्यो।

सायद उनको शासन सत्तामा जनताबाट चुनेका प्रतिनिधिसभाका सदस्यहरु बाधक भएको भए उनले आफ्नो सरकारको नेतृत्वमा चुनाव हुने गरी प्रतिनिधि सभा दश हात उफ्रेर विघटन गर्थे होला, परिवेश त्यस्तो रहेन। उनले केटाकेटीलाई टेर्ने कुरै भएन।

 

आन्दोलन हाईज्याक भयो।

पत्रकार सामु Two agenda’s movement भनी घोषणा गरेका मिराज ढुङ्गानाले भन्दै थिए :
१) ४ वा ५ वर्षको स्थिर र जनउत्तरदायी सरकार जुन एउटै पार्टीको बन्नु पर्दछ।
२) No proxi Prime Minister अर्थात जनताले प्रत्यक्ष चुनेको प्रधानमन्त्री।

यी दुई एजेण्डाले एउटा System को माग गर्दछ जुन System ले अहिलेको व्यवस्थाका फोहरलाई फिल्टर गर्छ ।..

यी दुई एजेण्डाले एउटा System को माँग गर्दछ जुन System ले अहिलेको व्यवस्थाका फोहरहरुलाई फिल्टर गर्छ। हामीले नै सरकार चलाउनु पर्छ भन्ने आशय होइन, सरकार अनुभवी पाता पुस्ताले चलाउंदा पनि हुन्छ ।” यो अभिव्यक्ति दिने जेन- जेड पुस्ताका यी सालीन नेताको कमाण्ड र कावुमा भाद्र २४ रहेन। त्यो दिनको आन्दोलन त षड्यन्त्रकारी स्वार्थी देशी विदेशी शक्तिको हातमा पुग्यो। यो देशका वैंक ठगहरु, सहकारी ठगहरु, राजश्व ठगहरु, माओवादी द्वन्दकालको वर्षौंसम्म मुद्धा खेपेकाहरु, जेलबाट भागेका अभियुक्तहरु, भ्रष्टाचार गरी अकुत सम्पति कमाएका अभियुक्त तथा राप्रपा र रास्वपाको पृष्टपोषणमा पालित पोषित षड्यन्त्रकारी समूहको हातमा पुग्न गयो। त्यो दिन जेन- जेड पुस्ता आन्दोलनको अग्र भागमा होइन, सवभन्दा पछी पर्यो। आन्दोलनका एजेण्डा बदलिए । सरकार ढल्यो, सेना मन्त्री र नेताहरुलाई सुरक्षा दिनमा मात्र सिमित रह्यो।आन्दोलन पछीको मार्गचित्रको रुपमा निम्न एजेण्डाहरु आए।
१ सरकारको बहिर्गमन,
२ राष्ट्रिय सरकारको निर्माण ,
३ संसद विघटन र मध्यावधि घोषणा ,
४ ताजा जनादेशबाट निर्मित संसदबाट संविधान संशोधन ,
५ संशोधित संविधान अनुसार कार्यकारी प्रमुखको निर्वाचन
६ देशमा विद्यमान भ्रष्टाचार , सम्पत्ति शुद्धीकरण , वित्तीय ठगी , हत्या हिंसालगायतका मुद्दामा हालसम्म सत्तामा रहनेहरू र तिनका मतियारउपर निष्पक्ष अनुसन्धान तथा कार्वाही ,
७. प्रदेश संरचना पूर्णत: खारेज ,
८ यी सबै कार्यको समयसीमा तोकेर आगामी ८ महिनाभित्र सबै प्रक्रिया पुरा गर्ने भन्ने न्युनतम राष्ट्रिय समझदारी कायम होस् !
यो अवस्था सम्म नेपाली जनतालाई यो भ्रम रह्यो कि आन्दोलनको लगाम अझै जेड पुस्ताको हातमा छ।भाद्र २५ सम्म आइपुग्दा रहस्यहरु एक पछी अर्को गरी खुल्दै गए।वास्तवमा यो आन्दोलनको पछाडीको योजनाकार अन्य विदेशी तत्व पनि हुन सक्छ । सरकारको प्रमुख सचिवालय सिंहदरवारमा कैयन पुराना दुई पक्षीय, त्रिपक्षीय र वहुपक्षीय सन्धी सम्झौताका अभिलेख थिए।ती छन् कि छैनन् ?
अख़्तियार दुरुपयोग निवारण आयोग, महान्याधिवक्ताको कार्यालय र सर्वोच्च अदालत भित्र कैयन भ्रष्टाचारी र अभियोगीका मिसिलहरु हुन्छन् ती छन् कि छैनन् ? देशै भरका अदालत किन जलाइए ? देशै भरका कारागारका अपराधीलाई किन छोडियो ? यो सवै गतिविधि हेर्दा २४ को वितण्डा जेन्जीको कावुमा थिएन। यो सुनियोजित थियो। जीन- जेडको भावना र मागहरु विशुद्ध र पवित्र थिए। उनीहरुलाई फेसमा देखाएर देशी विदेशी प्रतिक्रियावादीहरुले आफ्नो योजना सफल पारे जसरी माओवादीलाई देखाएर दरवार हत्या काण्ड सफल पारियो अहिले पनि त्यहि भयो।क्रमशः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation