जेनजि आन्दोलन

 

– गणेश आचार्य

नेपालमा देखिएको जेनजि आन्दोलन कुनै पृथक वा आकस्मिक घटना होइन, बरु यो विश्वव्यापी ऐतिहासिक प्रक्रियाको एउटा हिस्सा हो । आजको पुस्ता, जसलाई विश्वभरि जेनजि भनेर चिनिन्छ । इण्टरनेट, सामाजिक सञ्जाल र डिजिटल प्रविधिमा जन्मिएको पुस्ता हो जेनजि । यसले पूँजीवादी उत्पादन प्रणालीको गहिरो संकट, नवउदारवादको असफलता, जलवायु संकट, असमानता र बेरोजगारीजस्ता समस्याको घेराभित्र हुर्कन बाध्य भएको छ । त्यसैले यस पुस्ता केवल नेपालमा मात्र होइन, विश्वकै विभिन्न ठाउँमा विद्रोहको स्वर बनेर देखा परेको छ । तर हरेक देशमा यसको रूप फरक–फरक हुन्छ, त्यसको सामाजिक संरचना र राजनीतिक इतिहासअनुसार । नेपालमा यो आन्दोलन दलाल पुँजीवाद र पुरानै दलगत संस्कृतिको असफलताविरुद्धको विद्रोहको रूपमा प्रकट भएको छ ।

मार्क्सले भनेका थिए, “मानवता आफ्नो सामुन्ने समस्या समाधान गर्न सक्ने अवस्थामा मात्र समस्या उठ्छ।” नेपालमा जेनजि आन्दोलनको उदय यसैको पुष्टि हो । पुराना दलहरूले तीन दशकदेखि देशलाई स्थिरता, रोजगारी, समानता र सामाजिक न्याय दिन सकेनन् । तिनीहरू विदेशी शक्तिको दबाबमा, दलाल पुँजीवादको घेराभित्र, भागबन्डा र भ्रष्टाचारमा डुबिरहेका छन् । यस्तो अवस्थामा युवा पुस्ताले असन्तोष व्यक्त नगरे आश्चर्य मान्नुपर्थ्यो । तर यो असन्तोष अझै वर्गीय दृष्टिले सचेत छैन । यसलाई मार्क्सवादी सन्दर्भमा हेर्दा, यो आन्दोलन अझै स्वतःस्फूर्त चरणमै छ । लेनिनले भनेका थिए, “स्वतःस्फूर्त आन्दोलन वर्गीय संघर्षको प्रारम्भ हो, तर त्यो संघर्षलाई विजयमा पुर्याउन सचेत संगठन अपरिहार्य हुन्छ ।” यही कुरा नेपालमा पनि सत्य छ ।

नेपालका जेनजि पात्रहरूलाई उदाहरणका रूपमा हेर्दा यो कुरा स्पष्ट हुन्छ । बालेन शाहलाई युवापुस्ताले आफ्नो विद्रोहको प्रतीक माने । उनी पुरानै दलहरूको भ्रष्टाचार र अराजकता विरुद्ध खुलेर बोले, जनतालाई सिधा सम्बोधन गरे । तर उनको राजनीति प्रष्ट वैचारिक कार्यक्रमभन्दा बढी लोकप्रियतामा आधारित छ । यही कारण उनी क्षणिक रूपमा शक्तिशाली भए पनि, उनको बाटो समाजवादी विकल्पतर्फ मोडिएको छैन । स्वतन्त्र विद्यार्थी समूहहरूले दलगत संगठनहरूको भाँडभैलो तोड्न खोजे, तर तिनीहरूको आन्दोलन अझै संगठनात्मक गहिराइ र दीर्घकालीन दृष्टिकोणविहीन छ । रास्वपाले सुरुमा नयाँ विकल्पको नारा दियो, तर अन्ततः सत्ता–भागबन्डा र दलाल पुँजीवादकै नयाँ अनुहार बने । यसरी नेपालमा देखिएका उदाहरणहरूले देखाउँछन्—जेनजि आन्दोलन स्वतःस्फूर्त असन्तोष हो, तर वैचारिक दिशा नभएर खेर जाने खतरा छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि जेनजि आन्दोलनहरू प्रष्ट देखिएका छन् । अमेरिकामा “Occupy Wall Street” आन्दोलन, युरोपमा “Fridays for Future” भन्ने जलवायु आन्दोलन, हङकङमा युवाहरूको लोकतन्त्रका लागि संघर्ष, चिली र कोलम्बियामा विद्यार्थी आन्दोलन—यी सबै जेनजि पुस्ताकै विद्रोहका रूप हुन् । यिनीहरूको साझा पक्ष के हो भने—यी आन्दोलनहरू भ्रष्ट, असमान र असफल प्रणालीविरुद्ध छन् । तर साझा कमजोरी पनि छन । यी आन्दोलनहरू प्रष्ट वैचारिक वैकल्पिकता बिना क्षणिक रूपमा उठ्छन्, र अन्ततः राज्य वा पूँजीवादले दमन गरेर वा आत्मसात् गरेर निष्क्रिय बनाइदिन्छ । नेपालमा पनि उस्तै खतरा छ। यदि युवाहरूले समाजवादी वैकल्पिकताको बाटो नखोजे भने, उनीहरूको विद्रोह अन्ततः दलाल पुँजीवादकै नयाँ अनुहारले आत्मसात् गर्नेछ ।

जेनजि आन्दोलनको सकारात्मक पक्ष हेर्दा यसले जनताको चेतना जगाएको छ । सामाजिक सञ्जालमार्फत अब नेताहरूलाई प्रश्न नगरी उम्कन सकिँदैन । पुराना दलहरूको नाङ्गोपन खुलिसकेको छ । युवापुस्ताले पारदर्शिता, समानता, अवसर र इमानदारीको माग गरेको छ । यो ठूलो उपलब्धि हो । तर नकारात्मक पक्ष अझै गहिरो छ । वैचारिक स्पष्टता बिना, संगठनात्मक संरचना बिना, क्षणिक पपुलिज्ममा सीमित भएर यो आन्दोलनले दीर्घकालीन परिणाम दिन सक्दैन । बरु उल्टै यसले नयाँ किसिमको दलाल पुँजीवादलाई जन्माउन सक्छ, जसले पुरानै शोषणलाई नयाँ रूपमा निरन्तरता दिन्छ ।

मार्क्सवादी दृष्टिबाट निष्कर्ष प्रष्ट छ—जेनजि आन्दोलनलाई पूर्ण रूपमा नकार्न मिल्दैन, न त पूर्ण रूपमा स्वीकार गर्न मिल्छ । यो आन्दोलन आवश्यक छ, किनभने यसले नयाँ पुस्ताको विद्रोही चेतना जन्माएको छ । तर यो अधुरो छ, किनभने यो अझै संगठन र विचारविहीन छ । जबसम्म यसलाई समाजवादी वैचारिकतासँग, क्रान्तिकारी संगठनात्मक संरचनासँग र वर्गीय संघर्षसँग जोडिँदैन, तबसम्म यसको ऊर्जा खेर जानेछ । तर यदि यसलाई सही बाटोतर्फ मोडियो भने, यो पुस्ता नै नेपालको वास्तविक वैकल्पिक शक्ति बन्न सक्छ ।

नेपालका जेनजि युवाहरूले आज उठाएको प्रश्न—“पुरानै दलहरूले देश चलाउन सक्छन् ?”—इतिहासकै प्रश्न हो । यसको जवाफ स्पष्ट छ—दलाल पुँजीवाद र नवउदारवादमा भविष्य छैन । भविष्य समाजवादमै छ । प्रश्न केवल त्यति मात्र हो—के यो पुस्ताले त्यो बाटो रोज्छ ? वा फेरि दलाल पुँजीवादकै अर्को अनुहारमा हराउँछ ? यही प्रश्नको जवाफमा नेपालको भाग्य निहित छ । तर जेनजिहरु पनि राजनीतिको बिज्ञान नबुझ्नेहो भने हुने उनै पुराना भनिएका दलहरु जस्तै हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation