अहंकार होइन, आत्मसमीक्षा आवश्यक

शंकर प्रसाद पोख्रेल 

जेनजे आन्दोलनपछि देशले भोगेको क्षति हरेक नेपालीका लागि पीडादायी स्मरण बनेको छ। आन्दोलनका क्रममा निहत्था नागरिकले ज्यान गुमाए, सयौँ घाइते भए, मुलुकको पूर्वाधार र सार्वजनिक सम्पत्ति नष्ट भए। तर, अझ ठूलो क्षति भनेको देशको राजनीतिक, सामाजिक र नैतिक संरचनामा परेको चोट हो। जनताले आफ्नो आवाज उठाउँदा, राज्यसत्ताले त्यसलाई सम्बोधन गर्नुको सट्टा कठोर दमन गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र विश्वासमा गहिरो दरार खडा गरेको छ।

तर यस्तो गम्भीर क्षणपछि विशेष गरेर सताधारी दलहरूले अपेक्षित आत्मसमीक्षा गर्नु को सट्टा, अझै पुरानै शैलीमा अहंकार र दम्भयुक्त भाषणहरूमा रमाइरहेका छन्। आफ्नै कारणले यो स्थिति उत्पन्न भयो भन्ने आत्मग्लानी स्वीकार नगरी, उनीहरूले दोष अन्यत्र थोपर्ने र जनताको पीडालाई सामान्यीकृत गर्ने प्रवृत्ति देखाएका छन्। यसरी जिम्मेवारीबाट पन्छिने प्रवृत्ति लोकतन्त्रलाई बलियो बनाउने होइन, बरु कमजोर बनाउने बाटो हो।

राजनीतिक दलहरू लोकतन्त्रका स्तम्भ हुन् भन्ने धारणा हामीले सधैँ सुन्दै आएका छौँ। तर स्तम्भ नै कमजोर भए, घर टिक्दैन। अहिले दलहरूको भूमिकाले त्यही खतराको संकेत गरिरहेको छ। आत्मसमीक्षा गर्नु नेतृत्वको कमजोरी होइन, बरु परिपक्वताको परिचायक हो। आफ्ना गल्ती स्वीकार गरेर सुधार गर्ने क्षमता देखाउनु नेतृत्वको नैतिक बल हो। तर नेपालमा त्यसको अभाव चिरकालीन समस्या बनेको छ।

नेताहरूले जनतासमक्ष जिम्मेवारी स्वीकार गर्ने साहस देखाउनुपर्ने हो। तर व्यवहारिक राजनीति हेर्दा उनीहरू अझै चुनावी नारा, प्रचारबाजी र राजनीतिक लाभको अंकगणितमा सीमित देखिन्छन्। जेनजे आन्दोलनले दिएका चेतावनीहरूलाई बेवास्ता गर्नु भनेको फेरि त्यस्तै वा अझै ठूलो संकट निम्त्याउने तयारी गर्नु जस्तै हो। जनतालाई ‘विजेता–पराजित’ को खेलमा अल्झाएर समस्याबाट भाग्ने प्रवृत्ति टिकाउ समाधान कहिल्यै हुन सक्दैन।

आजको नेपाललाई आत्मसमीक्षा गर्ने नेतृत्व आवश्यक छ। मुलुकले कस्तो बाटो रोज्यो भन्ने प्रश्न केवल सडकमा देखिएको आन्दोलनले होइन, त्यसपछि दलहरूले गरेका व्यवहारले तय गर्छ। यदि दलहरूले अहंकारमा रमाएर आफूलाई निर्दोष साबित गर्नमै समय खर्च गर्ने हो भने मुलुकलाई सचिने होइन, सकिने दिशातिर धकेल्ने जोखिम बढ्छ।

जनताले आफ्ना प्रतिनिधिलाई सदैव सजग नजरले हेरेका हुन्छन्। इतिहासमा थुप्रै उदाहरण छन् जहाँ अहंकारमा रमाउने नेताहरूको अस्तित्व समयमै मेटिएको छ। आत्मसमीक्षा नगरी अहंकारमा रमाउने दलहरूको भविष्य पनि त्यही हुनेछ। बरु, आफ्ना भूल स्वीकार गर्ने, जनताको पीडा बुझ्ने र सुधारका उपाय प्रस्तुत गर्ने दलहरूले मात्रै आफ्नो अस्तित्व दीर्घकालीन बनाउन सक्छन्।

यस घडीमा सबै दलहरूले बुझ्नुपर्ने कुरा के हो भने—देश नेतृत्वको व्यक्तिगत अहंकार, पार्टीगत स्वार्थ वा सत्ता जोगाउने अंकगणितभन्दा ठूलो हो। यो मुलुकलाई बचाउने बेला हो, जनताको घाउमा मल्हम लगाउने बेला हो, संस्थागत संरचनालाई बलियो बनाउने बेला हो। अहंकार छाडेर आत्मसमीक्षा गर्न सकिएन भने इतिहासले क्षमा गर्ने छैन।

अन्ततः, अहंकारले नेतृत्वलाई क्षणिक रूपमा बलियो देखाए पनि, स्थायी रूपमा कमजोर बनाउँछ। आत्मसमीक्षा भनेको आत्मग्लानी मात्र होइन, सुधारको बाटो पनि हो। जनताको विश्वास जित्ने मार्ग पनि त्यही हो। यसैले, अबको प्रश्न नेतृत्वले बुझ्नुपर्ने हो—सच्चिने तिर लाग्ने कि सकिने तिर।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation