न्यूयोर्क, पुस २१ (एजेन्सी)
कडा सुरक्षा व्यवस्थाबीच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सोमबार न्यूयोर्कको म्यानहट्टनस्थित अदालतमा लगिएको छ। अमेरिकी लागूऔषध नियन्त्रण प्रशासन (डीईए) का दर्जनौँ एजेन्टले घेरिएका मादुरो अदालत परिसर प्रवेश गर्दा उनका तस्बिरहरू सार्वजनिक भएका छन्।
सार्वजनिक तस्बिरहरूमा मादुरो जेल पोशाकसँग मिल्दोजुल्दो पहिरनमा देखिन्छन्। उनी केही असहज ढंगले हिँडिरहेको देखिए पनि सुरक्षाकर्मीहरूले उनलाई चारैतिरबाट घेरेका थिए। अदालतमा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध लगाइएका आरोपहरूको औपचारिक विवरण पढिने तयारी गरिएको छ।
अमेरिकी पक्षका अनुसार शनिबार बिहान भेनेजुएलाको राजधानी काराकासमा गरिएको कारबाहीपछि राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकामा ल्याइएको हो। उनीहरूमाथि हतियार तथा लागुऔषध तस्करीसँग सम्बन्धित आरोप लगाइएको छ।
तर मादुरोले यी सबै आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका छन्। उनका समर्थकहरूले यस घटनालाई भेनेजुएलाको सार्वभौमिकतामाथिको आक्रमण भनेका छन्।
मादुरोको न्यूयोर्क अदालत उपस्थितिले अमेरिका–भेनेजुएला सम्बन्ध झन् तनावपूर्ण बन्ने संकेत देखिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।











